वेदपुरुषको चक्षुःको रूपमा रहेको ज्योतिषशास्त्र विभिन्न तर्क र प्रमाणका आधारमा वैज्ञानिक विषय हो भन्ने कुरा सिद्ध भएको छ । त्यसैले यहाँ विभिन्न पूर्वाचार्यहरूको कथनलाई प्रस्तुत गरी ज्योतिषशास्त्रको प्रामाणिकता प्रस्तुत गर्न खोजिएको छ । अतः प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यस्य साक्षिणौ जस्ता वचन प्रसिद्ध भएका हुन् ।
कपिलदेव सुवेदी
उप-प्राध्यापक, सिद्धान्त ज्योतिष, ने.सं.वि., विश्वविद्यालय विद्यापीठ, दाङ
kdsubedi034@gmail.com
सारसङ्क्षेप : वेदपुरुषको चक्षुःको रूपमा रहेको ज्योतिषशास्त्र विभिन्न तर्क र प्रमाणका आधारमा वैज्ञानिक विषय हो भन्ने कुरा सिद्ध भएको छ । त्यसैले यहाँ विभिन्न पूर्वाचार्यहरूको कथनलाई प्रस्तुत गरी ज्योतिषशास्त्रको प्रामाणिकता प्रस्तुत गर्न खोजिएको छ । अतः प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यस्य साक्षिणौ जस्ता वचन प्रसिद्ध भएका हुन् । ज्योतिषशास्त्र प्रत्यक्ष दृक्सिद्ध शास्त्र हो । यसका साक्षी सूर्य र चन्द्रमा रहेका छन् । सर्वदा सर्वत्र विज्ञजनहरूले जानेको र मानेको कुरा, पृथ्वीमा हुने समस्त शुभाशुभ घटनाहरू, आकाशमा स्थित ग्रह तथा नक्षत्रहरू, शुभाशुभ सुधामय र विषमय राशिहरूको परस्पर संपर्कले घटित हुने हुन्छ । जातकको जन्मसमयका आधारमा गरिने फलादेश र फलादेश असत्य सावित हुनुका कारणहरुको विषयमा चर्चा गरिएको छ । परापूर्वकालदेखि प्रचलित फलादेश वर्तमान समयमा पनि निरन्तर चलिनै रहेको छ । विभिन्न दैवज्ञहरूले अहिले पनि देशविदेशलाई चकित पार्ने किसिमका फलादेश गरिरहेका छन् । भविष्यवाणी गलत सावित हुँदा त्यसको दोषी दैवज्ञ हुन्छ, शास्त्र होइन, किनकि चिकित्सकहरूको हातबाट बिरामीको मृत्यु हुँदा चिकित्साशास्त्रलाई हामी दोष दिन सक्दैनौ । ऋतु एवं मौसम सम्बन्धी असत्य भविष्य कथनले ऋतुशास्त्रको वैज्ञानिकता समाप्त हुँदैन, यो कुरा स्पष्ट नै छ । सिद्धान्तको व्यभिचारबाट कुनै शास्त्रको वैज्ञानिकताको प्रतिवाद गर्नु गलत कुरा हो । तर व्यभिचारको कारण चाहिँ अवश्य खोज्नुपर्दछ । प्रश्नकर्ताका प्रश्नहरूको सहि तथा शास्त्रीय विधिबाट फलादेश गर्दा ध्यान दिनुपर्ने कुराहरूको चर्चा यस लेखमा गरिएको छ । अन्त्यमा ती विषयहरूको संयोजन गरी निष्कर्ष स्थापित गरिएको छ ।
शब्दकुञ्जी : ग्रहबल, दैवज्ञ, अरिष्ट, संघटन, दृष्टि
विषयप्रवेश
सूर्यादि नवग्रहहरूको स्थान बोध गराउने शास्त्रलाई ज्योतिष शास्त्र भनिन्छ । सम्पूर्ण आकाशमण्डलमा जुन तेजोमय बिम्ब देखिन्छ, समष्टि रूपमा त्यसलाई ज्योतिपुञ्ज भनिन्छ । त्यसमा पनि सधैँ एक रूपमा रहने वा देखिने पिण्डलाई तारा भनिन्छ । जसको प्रतिदिन भिन्न भिन्न स्वरूप तथा भिन्न भिन्न गतिमा दर्शन हुन्छ, तिनीलाई ग्रह भनिन्छ । सूर्य, चन्द्रमा आदि ग्रहहरूको पथमा पर्ने ताराहरूको समूहलाई नक्षत्र भनिन्छ । यस प्रकार तारा, नक्षत्र तथा ग्रहहरूको स्थिति, गति तथा त्यसको प्रभाव आदि विषयहरूको विवेचना गर्ने भएको हुनाले नै यसलाई ज्योतिष शास्त्र भनिन्छ ।
यो शास्त्र तीन भागमा विभक्त छ । व्यक्ताव्यक्तादिको सोपपत्तिक चर्चा जुन शास्त्रमा गरिन्छ, त्यो शास्त्र नै सिद्धान्त नामले प्रसिद्ध हुन्छ । त्यसै गरी कल्पको आरम्भदेखि ग्रहानयन गरिने शास्त्रलाई सिद्धान्त भनिन्छ । अथवा युग, बर्ष, अयन ऋतु, मास, पक्ष, अहोरात्र, याम, मुहूर्त, घडी, पला, प्राण, त्रुटी आदिका साथै सौर, चान्द्र, सावनादि मासको चर्चा तथा विचार गरिने शास्त्रलाई सिद्धान्त भनिन्छ । संहिता शास्त्रबाट सामूहिक प्रभावका विषयमा अध्ययन गरिन्छ । ज्योतिर्मय पिण्डको सञ्चरणबाट देश, कालमा पर्न जाने सामूहिक प्रभावको अध्ययन गरिने शास्त्र नै संहिताशास्त्र हो ।
“होरार्थं शास्त्रं होरा, तामहोरात्रविकल्पमेके वाञ्छन्ति पूर्वापरवर्णलोपात् । अहश्च रात्रिश्च अहोरात्री, होरा शब्देनोच्यते” । अहोरात्र शब्दको पूर्व वर्ण अ र पर वर्ण त्र को लोप भएर होरा शब्द निष्पन्न हुन्छ । प्रवह नामक वायुवेगका कारणले एक दिनमा बाह्रओटै मेषादि राशिहरू उदित भएर अस्त हुने गर्दछन् अर्थात् एक दिनमा बाह्रओटै राशिको भ्रमण हुन्छ । यिनै राशिलाई लग्न भन्ने गरिन्छ । यी लग्नको आधारमा शुभाशुभ फलको ज्ञान जुन शास्त्रबाट हुन्छ, अर्थात् जातकको जन्मकालीक ग्रहस्थिति वा तिथि, नक्षत्रादिको आधारमा जीवनको शुखदुःख, जयपराजय, विद्या-बुद्धि, धर्माधर्म आदिको निर्णय जुन शास्त्रबाट गरिन्छ, त्यहि शास्त्रलाई होराशास्त्र वा जातकशास्त्र भनिन्छ ।
वर्तमान समयमा विभिन्न संस्थाहरूद्वारा दिइएका छोटो समयावधिका तालिमहरू लिएर दैवज्ञको काम गर्ने प्रचलन बढिरहेको छ । यस सन्दर्भमा त्यस्ता व्यक्तिहरूबाट गरिने र गरिएका फलादेशबाट समाजले ज्योतिषशास्त्रको वैज्ञानिकताकै विषयमा प्रश्नचिन्ह लगाउन थालेको अवस्थामा यस लेखबाट समाजमा ज्योतिषशास्त्र अवैज्ञानिक नभई अल्पज्ञहरूबाट गरिएका फलकथनहरू असत्य हुन् भन्ने सन्देश दिने प्रयत्न गरिएको छ ।
समस्या कथन
यस अध्ययनमा शीर्षकसँग प्रासङ्गीक निम्नलिखित कुराहरूलाई समस्याका रूपमा प्रस्तुत गरी अनुसन्धान कार्य सम्पन्न गरिएको छ-
ज्योतिष शास्त्रको स्पष्ट परिचय कसरी दिन सकिन्छ ?
फलित शास्त्रको वैज्ञानिकताका आधारहरू के के छन् ।
फलादेश असिद्ध हुनाका कारणहरू के के हुन् ?
उद्देश्य निर्धारण
समस्या कथनमा उत्थापन गरिएका समस्याहरूलाई समाधान गर्ने क्रममा यसका उद्देश्यहरूलाई निम्नानुसार निर्धारण गरिएको छ-
ज्योतिष शास्त्रको स्पष्ट रूपमा परिचय प्रदान गर्नु,
फलित शास्त्र वैज्ञानिक हो भन्ने कुरामा आधारहरू प्रस्तुत गर्नु,
फलादेश असिद्ध हुनाका कारणहरू केलाउनु ।
अध्ययनविधि
प्रस्तुत लेख तयार गर्नका लागि विभिन्न पुस्तकालयमा गई त्यहाँ रहेका पुस्तकहरूबाट मधुकर विधिमा सामग्री सङ्कलन गरिएको छ । यसरी प्राप्त सामग्रीलाई विवेचना गरी प्रस्तुत गरिएको छ । त्यसका साथै विभिन्न ग्रन्थमा रहेका ज्योतिषशास्त्रको वैज्ञानिकता तथा फलादेशमा सहायक अन्य विषयहरूको समेत अन्वेषण गरिएको छ । अन्त्यमा ती विषयहरूको विश्लेषण गरी निष्कर्षमा पुर्याउने कोशिश गरिएको छ ।
अध्ययनको सीमा
ज्योतिष शास्त्र वेदपुरूषको चक्षुरूप मानिन्छ । उक्त कुराले यस शास्त्रको व्यापकतालाई उजागर गर्दछ । यद्यपि व्यापक भएकै कारण ज्योतिष शास्त्रका विभिन्न वर्णनीय पक्ष र विषय छन्, तथापि यस अनुसन्धानमूलक लेखमा ज्योतिष शास्त्रको परिचय, फलित शास्त्रको वैज्ञानिकता र फलादेश असिद्धिका कारणलाई मुख्य रूपमा वर्णन गरिएकाले उक्त कुराहरूलाई यस आलेखको सीमा निर्धारण गरिएको छ ।
ज्योतिष शास्त्रको परिचय
ज्योतिषशास्त्रका मुख्य तीन स्वतन्त्र शाखाहरूको उल्लेख वृहत्संहितामा आचार्य श्रीवराहमिहिरले यस प्रकार गरेका छन् –
ज्योतिः शास्त्रमनेकभेदविषयं स्कन्धत्रयाधिष्ठितं
तत्कार्त्स्योपनयस्य नाम मुनिभिः सङ्कीर्त्यते संहिता ।
स्कन्धेऽस्मिन् गणितेन या ग्रहगतिस्तन्त्राभिधानस्त्वसौ
होराऽन्योऽङ्गविनिश्चयश्च कथितः स्कन्धस्तृतीयोऽपरः ।। (बृहत्सं., अ १ श्लो.९)
यस ज्योतिष शास्त्रलाई सिद्धान्त, संहिता र होरा नाम दिएका छन् । सिद्धान्त शास्त्रमा ग्रहहरूको गति, मध्यम गति, तिथि, नक्षत्र विच्छेद, स्पष्ट गति, दिक्, देश र काललाई ज्ञान गराउने त्रिप्रश्नाधिकार, सूर्यचन्द्र ग्रहण, ग्रहको उदयास्त कल्पना, चन्द्रमाको शृङ्गको उन्नति, ग्रह र तारा(नक्षत्र) समागम, तिनीहरूको मापनमा प्रयुक्त यन्त्रादिको वर्णन पूर्णवैज्ञानिक पद्धतिबाट हुन्छ ।
त्रुट्यादिप्रलयान्तकालकलना मानप्रभेदः क्रमा–
च्चारश्च द्युसदां द्विधा च गणितं प्रश्नास्तथा सोत्तराः ।
भूधिष्ण्यग्रहसंस्थितेश्च कथनं यन्त्रादि यत्रोच्यते
सिद्धान्तः स उदाहृतोऽत्र गणितस्कन्धप्रबन्धे बुधैः ।।(सिद्धान्तशिरोमणि, कालमानाध्याय, श्लो. ९)
सिद्धान्त पद गणित वाचक शब्द हो । संख्याको गणना गर्ने विधि जुन शास्त्रमा हुन्छ, त्यसलाई गणित भनिन्छ । यो गणित पनि चार प्रकारको हुन्छ । पहिलो, सम्पूर्ण जनमानसमा प्रसिद्ध जोड, घटाउ, गुणन, भाग, १,२,३,४,५ आदि अङ्कद्वारा हुन्छ । यसलाई व्यक्त गणित भनिन्छ । दोस्रो, अभीष्ट सिद्धिका लागि यावत् तावत् आदि सापेक्ष बुद्धिद्वारा गणितको क्रिया गरिन्छ, त्यसलाई अव्यक्त गणित भनिन्छ । तेस्रो, फलादि संस्कारद्वारा ग्रहआदिको ज्ञान गरिन्छ, त्यसलाई ग्रहगणित भनिन्छ । चौथो, वेधद्वारा ग्रहकर्म, वासना अर्थात् युक्तियुत कर्मको गणना गरिने विधिलाई गोल गणिन भनिन्छ । किनकि वेध गोलमा आश्रित हुन्छ । यस प्रकार उक्त चार प्रकारका गणित जुन शास्त्रमा हुन्छ, त्यो नै वास्तविक गणित हो । यसैलाई सिद्धान्त भनिन्छ ।
संहिता शास्त्रबाट सामूहिक प्रभावका विषयमा अध्ययन गरिन्छ । ज्योतिर्मय पिण्डको सञ्चरणबाट देश, कालमा पर्न जाने सामूहिक प्रभावको अध्ययन यस शास्त्रमा गरिन्छ । वराहमिहिरले बृहत्संहितामा प्राणी, कीट, पतङ्ग आदिको हितका लागि संहिता शास्त्रको प्रतिपादनको औचित्य पुष्टि यसरी गरेका छन्–
सन्त्यज्य फल्गूनि च सारभूतं भूतार्थमर्थैः सकलैः प्रवक्ष्ये । (बृहत्संहिता, अध्याय १, श्लोक ११)
यस प्रकार ग्रहको सञ्चरणजनित सामूहिक प्रभावबाट वर्षा, गर्भलक्षण, विविध योगहरूको फल, भूकम्प, उल्कापात, ध्वजालक्षण, पक्षिलक्षण, वास्तु, दकार्गल, पशुलक्षण, पुरुष–स्त्रीलक्षण, जन्तु-पक्षीहरूको ध्वनिजन्य शकुन, प्रतिमालक्षण, रत्न तथा वृक्ष चिकित्सा आदि सामूहिक महत्त्वका अनेक विषयहरूको अध्ययन संहिता शास्त्रअन्तर्गत गरिन्छ । आर्ष ग्रन्थ, नारद संहिता, लल्लाचार्यको रत्नकोष, श्रीपतिको रत्नमाला, गङ्गाधरको विवाहपटल, नारायणको मुहूर्तमार्तण्ड, श्रीरामदैवज्ञको मुहूर्तचिन्तामणि, नरपतिको नरपतिजयचर्यास्वरोदयम् आदि संहिता ग्रन्थहरू प्राप्य छन् र ती ग्रन्थहरूको फलश्रुति वैज्ञानिक यन्त्रभन्दा अधिक स्पष्ट र सटीक छ । अतः ज्योतिषको यो शाखा पनि वैज्ञानिक दृष्टिले परिपूर्ण र सिद्ध छ ।
कर्मार्जितं पूर्वभवे सदादि यत्तस्य पङ्क्ति समभिव्यनक्ति ।। (वृहज्जातकम्, राशिप्रभेदाध्याय श्लो ३)
प्राणीको पूर्वजन्मार्जित शुभाशुभ कर्मको ज्ञान होरा शास्त्रबाट हुन्छ । जसरी रात्रीको अन्धकारमा कुनै वस्तुको ज्ञान दीपको सहायताबाट गर्न सकिन्छ, त्यसै गरी जीवनमा आउने शुभाशुभ समयको ज्ञान होराशास्त्रबाट हुन्छ । भनिएको छ –
यदुपचितमन्यजन्मनि शुभाऽशुभं तस्य कर्मणः पंक्तिम् ।
व्यंजयति शास्त्रमेतत् तमसि द्रव्याणि दीप इव ।।(लघुजातकम्, राशिप्रभेदाध्याय श्लो.३)
होरा शास्त्रबाट व्यक्तिविशेषको जन्म-जन्मान्तरको शुभाशुभ कर्मको फलका विषयमा बोध हुन्छ । यो शास्त्र जातकसँग सम्बन्धित हुने भएकाले यसलाई जातक-शास्त्र पनि भनिन्छ । त्यसैगरी जन्मको आधारमा विविध फलादेश गरिने भएको हुनाले यो शास्त्र फलित ज्योतिषको नामले प्रचलित पनि छ । यसका प्रतिपाद्य विषयमा राशिभेद, ग्रहयोनि, आधान, शास्त्रवर्णित अशुभ नक्षत्र विवेचन, संवत्सरफल, ग्रहस्थितिफल, दृष्टिफल, अरिष्ट, राजयोग, आयुर्दाय आदिको विस्तृत विवेचना हुन्छ । सारावलीमा कल्याण वर्माले भनेका छन् –
जातकमिति प्रसिद्धं यल्लोके तदिह कीर्त्यते होरा ।
अथवा दैवविमर्शनपर्यायः खल्वयं शब्दः ।। (सारावली, अ २, श्लो.४)
जातक, ताजिक, रमल, प्रश्न र स्वप्न गरी यसका पनि पाँच शाखा, उपशाखा स्वतन्त्र अस्तित्वमा स्थापित छन् । यसै कारणले होरा-शास्त्र विशाल समुद्रको रूपमा स्थापित छ । अब फलित शास्त्रको वैज्ञानिकतालाई प्रकाशति गरिन्छ ।
फलित शास्त्रको वैज्ञनिकता
प्राणीको निधारमा ब्रह्माजीद्वारा लिखित शुभाशुभफललाई होराशास्त्रको ज्ञानरूपी आँखाले दैवज्ञले बुझेर जातकको जीवनको फलादेश गर्दछ ।
विधात्रा लिखिता याऽसौ ललाटेऽक्षरमालिका ।
दैवज्ञस्तां पठेद्व्यक्तं होरानिर्मलचक्षुषा ।।(सारावली, अध्याय २ श्लो १)
त्यसै गरी दैवज्ञ कस्तो हुनु पर्दछ भन्ने विषयमा शम्भुहोराप्रकाशमा चर्चा गरिएको छ । ज्योतिषशास्त्रको मर्मज्ञ, गणितमा प्रविण, शास्त्रवेत्ता, सत्यवादी, विनीत, वेदाध्यायी तथा ग्रहयज्ञमा कुशल व्यक्तिलाई दैवज्ञ भनिन्छ । यस्ता प्रभावशाली ज्योतिषीद्वारा गरिएको शुभाशुभ फलादेश कहिले पनि गलत हुँदैन ।
होरापारसमुद्रपारगमने नूनं समर्थो महान्
पाट्याख्ये गणिते च बीजगणिते यो दर्भगर्भाग्रधीः ।
सिद्धान्ते स्फुटवासनाप्रकथने भेदैरनेकैर्युते
गोले स्यात्कुशलः स एव गणको योग्यः फलादेशके ।। (शम्भुहोराप्रकाश, राशिभेदाध्याय)
ज्योतिषका स्कन्धत्रय(सिद्धान्त, संहिता, होरा)को ज्ञाता, सुरूप, शान्त, वैदिक कर्मनिष्ठ, घमण्डरहित, सत्यवादी, प्रसन्न प्रकृति भएको व्यक्ति मात्र दैवज्ञ हुन सक्दछ –
त्रिस्कन्धज्ञो दर्शनीयः प्रशान्तः श्रौतस्मार्तोपासने निष्ठचित्तः ।
निर्दम्भो यः सत्यवादी प्रसन्नो दैवज्ञो वै स स्मृतो नेतरश्च ।। (शम्भुहोराप्रकाश, राशिभेदाध्याय)
जुन व्यक्तिलाई तिथि उत्तपत्तिको विषयमा ज्ञान छैन, जसले ग्रह साधन गर्न जान्दैन, जो अन्य व्यक्तिको देखासिकी गरेर ज्योतिषीको व्यवहार देखाउँछ, फलादेश गर्न थाल्द छ, ज्योतिषी हुँ भन्दै हिँड्दछ, ती नक्षत्रसूचक हुन्-
तिथ्युत्पत्तिं न जानन्ति ग्रहाणां नैव साधनम् ।
परवाक्येन वर्तन्ते ते वै नक्षत्रसूचकाः ।। (मुहूर्तचिन्तामणि, शुभाशुभप्रकरणम्, श्लो. २ )
मनोवैज्ञानिक व्यक्तित्व निर्माणमा वंशपरम्परा, परिवेश एवं प्रयत्नको परिणामजनित फललाई मूल आधारको रूपमा लिइन्छ । किन्तु यो नै मूल आधार हुने भए एउटै बावुआमाका अनेक सन्तान समान वातावरण र समान प्रयत्नबाट समान प्रकृतिका नै हुनुपर्ने तर यस्तो प्रायः पाइँदैन । कोही अधिक प्रतिभाशाली, कोही सामान्य त कोही मूर्ख तथा जडसम्म हुन्छन् । ज्योतिष शास्त्रको सिद्धान्तअनुसार जातकको बुद्धि, स्वभाव आदिमा वंश परम्परा, वातावरणका साथै जन्मकालिक ग्रहस्थितिको प्रमुख भूमिका रहेको हुन्छ । जातकको फलकथनमा दैवज्ञले लोकाचार, कुलाचारका साथै जन्मसमय र जन्मस्थानका आधारमा निर्मित कुण्डलीको माध्यमबाट फलादेश गर्दछन् । लघुजातकमा आचार्य वराहमिहिरले भनेका छन्–
यदुपचितमन्यजन्मानि शुभाशुभं तस्य कर्मणः प्राप्तिम् ।
व्यजयति शास्त्रमेतद् तमसि द्रव्याणि दीप इव ।। (लघुजातकम्, अ १ श्लो.३)
परापूर्वकालदेखि प्रचलित फलादेश वर्तमान समयमा पनि निरन्तर चलिनै रहेको छ । विभिन्न दैवज्ञहरूले अहिले पनि देशविदेशलाई चकित पार्ने किसिमका फलादेश गरिरहेका छन् । भविष्यवाणी गलत सावित हुँदा त्यसको दोषी दैवज्ञ हुन्छ, शास्त्र होइन किनकि चिकित्सकहरूको हातबाट बिरामीको मृत्यु हुँदा चिकित्साशास्त्रलाई हामी दोष दिन सक्दैनौ । ऋतु एवं मौसम सम्बन्धी असत्य भविष्य कथनले ऋतुशास्त्रको वैज्ञानिकता समाप्त हुँदैन, यो कुरा स्पष्ट नै छ । सिद्धान्तको व्यभिचारबाट कुनै शास्त्रको वैज्ञानिकताको प्रतिवाद गर्नु गलत कुरा हो । तर व्यभिचारको कारण चाहिँ अवश्य खोज्नुपर्दछ ।
पञ्चतत्त्व(पृथ्वी, जल, तेज, वायु र आकाश)को सूक्ष्मांशबाट मनोमय, आनन्दमय, विज्ञानमय र वासनामय कणबाट पूर्वार्जित कर्मानुसार मन, बुद्धि र आत्माको एकाकार स्वरूप गर्भस्थ जीवको सिर्जना हुन्छ । ग्रहस्थिति तथा परिवेशको संयोग-वियोगबाट भिन्न-भिन्न रूप, रंग, गुण, धर्म तथा स्वभावको प्राप्ति हुन्छ । गर्भस्थिति तथा प्रसवका बीचको समयमा इन्द्रिय, मन र बुद्धि तथा सत्व, रज, तम यी तीन गुणले युक्त भएर पूर्वजन्मको कर्मानुसार प्राप्त हुने दैहिक, दैविक र भौतिक सन्ताप तथा ऐश्वर्यादिको उपलब्धिलाई कुनै वैज्ञानिक मेसिनद्वारा मापन गर्न सकिँदैन । यो त मस्तिष्कको प्रयोगशालामा कालगणनाको आधारबाट गणित र ज्यौतिष सिद्धान्तको आधारमा फलितशास्त्रका विद्वान्द्वारा प्रस्तुत गरिएको हो । जस्तै- संसारमा सुभिक्ष, दुर्भिक्ष, जलप्रलय, खडेरी, महामारी, सत्ता परिवर्तन, युद्ध, जीवनोपयोगी वस्तुहरूको महार्घता, समर्घता आदिको पूर्वानुमान आकाशीय पिण्डहरूको गति तथा राशि परिवर्तनका आधारमा निर्णित हुन्छ । ज्यौतिषशास्त्रबाट यस्ता विविध विषयहरूको पूर्वानुमान तथा फलादेश गर्न सकिन्छ । त्यसैगरी फलितशास्त्रको अनुभवजन्य प्रयासलाई वैज्ञानिक संघटनको संज्ञा दिन सकिन्छ ।
फलादेश गलत हुनुका प्रमुख कारणहरू
क. अशुद्ध जन्म समय
जन्म कुण्डलीको मुख्य बिन्दु जातकको जन्मसमय हो । कसैले वच्चा जन्मेको समयलाई, कसैले गर्भाधानको समयलाई, कसैले बच्चाको प्रथम रोदन समयलाई प्रधानता दिनुपर्ने कुरा लोकव्यवहारमा बताएको पाइन्छ । ती भनाइहरूमा सर्वमान्य समय बच्चा जन्मेको समय नै हो । आर्थिक अभाव, अशिक्षा, समयको अन्तरालका कारणले जातकका आमाबुबाले जन्म समय बिर्सिदा अशुद्ध समयले कुण्डली दूषित हुन्छ र वास्तविक फलादेश हुन सक्दैन ।
ख. अशुद्ध गणित
जन्मसमय शुद्ध हुदाहुँदै पनि गणकको गणितीय त्रुटिका कारण कुण्डली प्रभावित भई फलादेश प्रभावित हुन्छ । जन्मसमयपछिको महत्त्वपूर्ण तत्त्व हो जन्मस्थान । भिन्न-भिन्न स्थानअनुसार सूर्योदय पनि भिन्न भिन्न हुन्छ । अक्षांश, देशान्तर र चर संस्कारको ज्ञानविना स्थानीय सूर्योदयको निर्धारण कठिन हुन्छ । त्यसैगरी अशुद्ध पञ्चाङ्गका कारणले पनि फलादेशलाई प्रभावित गर्दछ ।
ग. ग्रहबलको उपेक्षा
ज्योतिष शास्त्रमा राजयोगको चर्चा गरिनुका साथै राजभङ्ग योगको पनि चर्चा गरिएको छ । बालारिष्ट तथा बालारिष्टभङ्ग योगको पनि चर्चा गरिएको छ । प्रायः ज्योतिषीहरूले षड्वर्गीय कुण्डलीको विश्लेषणविना लग्नलाई मात्र आधार बनाएर नवमांश, ग्रहबल, ग्रहमैत्री, स्थानबल आदिको परीक्षणविना तुरुन्त फलादेश गर्दा ज्योतिष शास्त्रको मर्म तथा वैज्ञानिक परम्पराको उल्लङ्घन हुन्छ । भावफल विवेचना गर्दा धेरै कुरामा विचार पुर्याउनु पर्दछ । भनिएको पनि छ –
यो यो भावः स्वामिदृष्टो युतो वा सौम्यैर्वा स्यात् तस्य तस्यास्ति बृद्धिः ।
पापैरेवं तस्य भावस्य हानिर्निर्देष्टव्याः पृच्छतां जन्मतो वा ।। (षट्पञ्चाशिका, १अ ,श्लो ३)
अर्थात् प्रश्नलग्न कुण्डली वा जन्मलग्न कुण्डलीमा जुन जुन भावलाई त्यसभावको स्वामी ग्रहले देखेको हुन्छ अथवा भावेश वा शुभ ग्रह सोही भावमा बस्दछ भने त्यो भावको बृद्धि हुन्छ । त्यसै गरी पापग्रह रहेछ भने त्यस भावको हानी हुन्छ अर्थात् जुन जुन भावलाई पाप ग्रहले देख्दछ, त्यो भावले शुभ तथा पूर्ण फल नदिई अशुभ फल दिन्छ तर ग्रहबलको उपेक्षा गरी फलादेश गर्दा फलादेश असत्य हुन जान्छ ।
घ. फलादेशमा संहिताशास्त्रको अवहेलना
संहिताशास्त्रको जानकारी विना गरिएको फलादेश झुठो सावित हुन सक्छ । यदि सम्पूर्ण शुभलक्षणले युक्त व्यक्ति सामूहिक रूपमा बस वा हवाइजहाज दुर्घटनामा मर्न सक्छ भने यस्मा फलित शास्त्रको दोष नभई फलादेश गर्ने व्यक्तिको दोष हुन्छ किनकि संहिताशास्त्रद्वारा सामुहिक देश, काल, परिस्थिति र वातावरणको फलादेश हुन्छ । होराशास्त्रबाट वैयक्तिक फलादेश गरिन्छ भने संहिताशास्त्रबाट सामूहिक फलादेश गरिन्छ । वैयक्तिक फलादेशभन्दा सामूहिक फलादेश अत्यधिक प्रवल हुन्छ ।
ङ. प्रक्षेपगत श्लोकको फलित शास्त्रमा प्रवेश
होरा शास्त्र(फलितज्योतिष) समुद्रजस्तै व्यापक शास्त्र हो । कहिलेकाहीँ अप्रामाणिक, अपरीक्षित योगको कुनै अल्पबुद्धि दैवज्ञले पुस्तक निर्माणका क्रममा सम्मिलित गरेको हुन सक्छ र त्यस्ता कल्पित योगहरूलाई आधार मानेर गरिएको फलादेश गलत हुन्छ ।
च. उपासना र वाक्सिद्धिको कमी
ज्योतिष विद्या परा विद्या हो । बृहत्संहितामा आचार्य वराहमिहिरले जुन दैवज्ञको मर्यादा निर्धारण गरेका छन्, त्यो यस प्रकार छ –
अप्यर्णवस्य पुरुषः प्रतरन् कदाचिद् आसादयेदनिलवेगवशेन पारम् ।
नत्वस्य कालपुरुषाख्यमहार्णवस्य गच्छेत्कदाचिदनृषिर्मनसापि पारम् ।। (बृहत्सं २/१६)
त्यसै गरी कर्णपिशाचिनी साधकलाई दैवज्ञ मान्न नहुने कुरा बताएका छन्–
कुहकावेशपिहितकर्णो यश्श्रुतिहेतुभिः ।
कृतादेशो न सर्वत्र प्रष्टव्यो न स दैववित् ।।(बृहत्सं २/३१)
दैवज्ञ विद्याव्यसनी भई शास्त्रको अध्ययन मन्थन गरेर निष्कर्षमा पुग्न आचार्यले प्रेरित गरेका छन् । हाम्रा पुराणहरूमा वर्णित गर्गादि ऋषिहरूका फल कथनहरू अक्षरशः सिद्ध भइरहेको देखेर वर्तमानमा दैवज्ञहरू पनि आचारवान् र दैवज्ञीय गुण भएको हुन आवश्यक छ । अन्यथा फल कथन गलत हुन सक्छ ।
छ. वंश परम्पराको ज्ञान आवश्यक
जातकको फल कथनमा वंश परम्पराले पनि प्रभाव पार्ने गर्दछ । प्रायः मानिसहरूले आफ्नो वंश परम्पराअनुसारको अध्ययन पेसा व्यवसायहरू गर्दै आएका हुन्छन् । एउटै समयमा जन्मेका दुई बालकमध्ये एउटा शिक्षित उच्च पदस्थ सरकारी कर्मचारी र अर्को अशिक्षित किसान हुन सक्छ । यस अवस्थामा लोकाचार, कुलाचार वंश परम्पराले मुख्य प्रभाव पार्दछ । ज्योतिषले फलादेशको क्रममा यो कुराको ख्याल नराखेमा फलादेश गलत हुन्छ ।
ज. प्रयासको प्रधानता
केशव दैवज्ञले प्रष्टरूपमा भनेका छन् – स्याद् धर्मिष्ठसुशीलपथ्यसुभुजां न स्यादिदं पापिनाम् अर्थात् ज्योतिषको फलादेश ती जातकहरूमा सत्य सावित हुन्छ, जो धर्मनिष्ठ, सुशील तथा पथ्यकारी जीवन व्यतीत गरिरहेका हुन्छन्, पापबुद्धि अधर्मी नास्तिकहरूका लागि होइन । कुपात्रहरूको फलादेश पनि प्रभावकारी हुँदैन । यस विषयमा पनि फलादेशकर्ताले विचार गर्नुपर्दछ ।
झ. सहसम्बन्धिमा ध्यान
जनताको कुण्डलीको फलादेश गर्दा सहसम्बन्धिको विषयमा विशेष ख्याल पुर्याउनुपर्दछ । सहसम्बन्धि ख्याल नगरी फलादेश गर्दा फलमा त्रुटि हुन सक्दछ । जस्तै सन्तानको विषयमा फलादेश गर्दा श्रीमान् वा श्रीमतीको कुण्डलीबाट मात्र फलादेश गर्नु अवैज्ञानिक हुन्छ । एउटाको कुण्डलीमा देखिएको शुभ वा अशुभ योग अर्को कुण्डलीमा बाधक हुन सक्छ, जसले गर्दा फल असत्य हुन जान्छ । त्यसैले अर्को सम्बन्धिको कुण्डलीसँग त्यो कुण्डली मिलान गरेर मात्र फलादेश गर्नुपर्दछ । यहाँ पति-जायासँगको सम्बन्ध, सन्तानसुख हेर्न पतिपत्नीको, पितृसुख हेर्न पिता पुत्र-पुत्रीको, मातृसुख हेर्न माता पुत्र-पुत्रीको, भातृसुख हेर्न अनुज-अग्रजको कुण्डली एक साथमा हेरेमा फलादेश सत्य हुन्छ ।
ञ. प्रश्नकर्ताको पहिचान –
कहिलेकाहिँ ज्योतिषीको परीक्षा लिने उद्देश्यले पनि मानिसहरू आउने गर्दछन् । अनावश्यक झुठा प्रश्नहरू सोध्ने गर्दछन् । त्यस अवस्थामा दैवज्ञले शास्त्रीय विधिले फलादेश गर्नु पर्दछ, प्रश्नकर्ताबाट केही पाउने लोभले, उसलाई खुशि पार्ने उद्देश्यले उसको मनोभावना अनुकूलको होइन। यसरी प्रश्नकर्ताको मनोभावना अनुकूल फलादेश गरियो भने फलादेश असत्य हुन जान्छ ।
उपसंहार
ज्योतिष शास्त्र पूर्वजन्म र परजन्ममा विश्वास गर्ने शास्त्र हो । पूर्वजन्ममा गरिएका शुभाशुभ कर्मको फल हामीले यस जन्ममा भोग्ने हो । “पूर्वजन्म कृतं पापं व्याधिरूपेण पीडति” । अशुभफल भोग गर्न ज्यादै कठीन हुन्छ । यदि मानिसले पाप कर्म गर्यो भने, भगवत्-भक्ति परोपकारादि शुभकर्म गरेन भने पापकर्मको फल अवश्य भोग्नु पर्दछ । जातक रोगी तथा असाध्य रोगले पीडित हुन्छ । प्राणी पूर्वजन्मार्जित शुभाशुभ कर्मको ज्ञान होरा शास्त्रबाट हुन्छ । जसरी रात्रीको अन्धकारमा कुनै वस्तुको ज्ञान दीपको सहायताबाट गर्न सकिन्छ, त्यसै गरी जीवनमा आउने शुभाशुभ समयको ज्ञान होराशास्त्रबाट हुन्छ । पञ्च तत्त्व(पृथ्वी, जल, तेज, वायु र आकाश)को सूक्ष्मांशबाट मनोमय, आनन्दमय, विज्ञानमय र वासनामय कणबाट पूर्वार्जित कर्मानुसार मन, बुद्धि र आत्माको एकाकार स्वरूप गर्भस्थ जीवको सिर्जना हुन्छ । ग्रहस्थिति तथा परिवेशको संयोगवियोगबाट भिन्नभिन्न रूप, रंग, गुण, धर्म तथा स्वभावको प्राप्ति हुन्छ । गर्भस्थिति तथा प्रसवका बीचको समयमा इन्द्रिय, मन र बुद्धि, तथा सत्व, रज, तम यी तीन गुणले युक्त भएर पूर्वजन्मको कर्मानुसार दैहिक, दैविक र भौतिक सन्ताप तथा ऐश्वर्यादिको उपलब्धिलाई कुनै वैज्ञानिक मेसिनद्वारा मापन गर्न सकिदैन । यो त मस्तिष्कको प्रयोगशालामा कालगणनाको आधारबाट गणित र ज्यौतिष सिद्धान्तको आधारमा फलितशास्त्रका विद्वान्द्वारा प्रस्तुत गरिएको हो । यस प्रकार हामीले भन्न सक्छौ कि फलित ज्योतिषको फलादेशलाई प्रभावित गर्ने अनेक कारणहरू छन्, जस्ले गर्दा ज्योतिषशास्त्रको वैज्ञानिकतामाथि प्रश्न चिन्ह लगाउने गर्दछन् । तर हामीले बुझनु पर्छ कि फलितको अत्यन्त सुक्ष्म पक्ष होराशास्त्रमा परिलक्षित हुन्छ । सिद्धान्त र संहिताको पूर्ण ज्ञान भएका व्यक्तिबाट गरिएको ज्योतिषीय कार्य शास्त्रीय र पूर्ण वैज्ञानिक नै हुन्छ । माथि उल्लेख गरिएका विषयहरूमा गहन चिन्तन गरेर फलादेश गरिएमा फलित ज्योतिष पनि पूर्णतः वैज्ञानिक प्रतित हुनेछ । यसमा कुनै सन्देह रहने छैन । विज्ञान नित्य नयाँ कुराको आविश्कार र विकास गर्ने मानव बुद्धि विलाशको अनुपम उदाहरण हो ।
सन्दर्भ ग्रन्थसूची
कल्याणवर्म (सन् २००३), सारावली, वाराणसी : मोतीलाल बनारसीदास ।
पुञ्जराजाचार्य (सन् २०१८), शम्भुहोराप्रकाश, वाराणसी : चौखम्वा संस्कृत सिरिज ।
पृथुयश (सन् १९५७), षट्पञ्चाशिका, मुम्बई : खेमराज श्रीकृष्णदास ।
भास्कराचार्य (वि.सं. २०५५), सिद्धान्त शिरोमणि, वाराणसी : सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय ।
वराहमिहिराचार्य (सन् १९९०), लघुजातकम्, …….. : भारतीय विद्या संस्थान ।
वराहमिहिराचार्य (वि.सं. २०५३), बृहत्संहिता, वाराणसी : सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय ।