बुद्धोपदेशका रूपमा रहेका महायानसूत्रहरूमा रहेका शून्यता सम्बन्धी र मध्यम मार्गको अनुसरण सम्बन्धी अवधारणाहरूलाई समेटेर माध्यमिक दर्शनको स्थापना गर्ने प्रथम आचार्य नागार्जुन हुन् । नागार्जुनले यस सिद्धान्तको स्थापना माध्यमिककारिका नामक ग्रन्थमा गरेका छन् । नागार्जुनपछि माध्यमिक दर्शनको विकासमा आर्यदेव, बुद्धपालित, भावविवेक र चन्द्रकीर्तिको विशेष योगदान रहेको छ ।
शेखर दाहाल, विद्याविरिधि
उपप्राध्यापक, बाैद्धदर्शन
ने. सं. वि., वाल्मीकि विद्यापीठ, काठमाण्डौ
shekhardahal1@gmail.com
शोधसारः
बुद्धोपदेशका रूपमा रहेका महायानसूत्रहरूमा रहेका शून्यता सम्बन्धी र मध्यम मार्गको अनुसरण सम्बन्धी अवधारणाहरूलाई समेटेर माध्यमिक दर्शनको स्थापना गर्ने प्रथम आचार्य नागार्जुन हुन् । नागार्जुनले यस सिद्धान्तको स्थापना माध्यमिककारिका नामक ग्रन्थमा गरेका छन् । नागार्जुनपछि माध्यमिक दर्शनको विकासमा आर्यदेव, बुद्धपालित, भावविवेक र चन्द्रकीर्तिको विशेष योगदान रहेको छ । नागार्जुनको माध्यमिककारिकामा प्रतिपादित तत्त्वको विवेचन गर्ने पहिलो आचार्य बुद्धपालित हुन् । उनले शून्यता तथा भावोत्पत्तिका सम्बन्धमा प्रसङ्गवाक्यहरूको प्रयोग गरेर शून्यतालाई तर्कद्वारा पुष्टि गर्न नसकिने तथ्य स्थापित गरे । बुद्धपालितले प्रयोग गरेका प्रसङ्गवाक्यहरूको निषेध र शून्यताको पुष्टिका लागि भावविवेकले स्वतन्त्रानुमान, स्वतन्त्र तर्कको सहारा लिए । त्यसैले अहिले भावविवेकले अघि सारेका विचारलाई स्वातन्त्रमाध्यमिक र बुद्धपालितद्वारा अघि सारेका विचारलाई प्रासंगिकमाध्यमिक भनेर चिनिन्छ । स्वातन्त्रिकमाध्यमिक र प्रासंगिकमाध्यमिकका बीचमा संवृतिसत्य, परमार्थसत्य, आलयविज्ञानको अस्तित्व, बाह्यार्थसत्ताको स्वरूप स्वसंवेदनप्रत्यक्ष जस्ता अनेक विषयमा मतभिन्नता भए पनि दुवैका बीचमा प्रमुख विवादका विषयहरू भनेका स्वलक्षणसत्ता, प्रसङ्गवाक्य र स्वतन्त्रानुमान हुन् । भावविवेकले सवैतिर परमार्थतः भन्ने विशेषणको प्रयोगबाट परमार्थको निषेध गरे पनि स्वलक्षणसत्तालाई स्विकारेका छन् । प्रासंगिकहरूका मतमा स्वलक्षणसत्ताको निषेध विना परमार्थसत्ताको निषेध हुन सक्दैन । स्वलक्षणसत्तासत्ता र परमार्थसत्ताको निषेध विना शून्यताको सिद्धि हुन सक्दैन । यो नै स्वातन्त्रमाध्यमिक र प्रासंगिकमाध्यमिकहरूको विवादको प्रमुख विषय हो ।
शब्दकुञ्जी : प्रज्ञापारमिता, प्रातिभचक्षु, तथ्यसंवृत्ति, मिथ्यासंवृत्ति, स्वलक्षणसत्ता ।
विषयप्रवेश
शून्यवाद वा माध्यमिक सम्प्रदाय बौद्ध दर्शनका चार सम्प्रदायहरूमा एउटा महत्त्वपूर्ण सम्प्रदाय हो । बुद्धोपदेशका रूपमा रहेका प्रज्ञापारमितासूत्रहरूमा रहेका शून्यता सम्बन्धी विचारलाई आफ्ना मौलिक तर्कहरूबाट पुष्टि गर्ने कार्य सर्वप्रथम आचार्य नागर्जुनले गरेका हुन् । सामान्य रूपमा शून्यको अर्थ असत्, अभाव वा मूल्यहीनता भए पनि शून्यवादका सन्दर्भमा यसको अर्थ न सत्, न असत्, न सदसत्, न तद्विपरीत गरी यी चार कोटिबाट विनिर्मुक्त परमतत्त्व हो । अर्थात् शून्यतत्त्वका दुई रूप हुन्छन् । शून्यतत्त्व माया तथा परमतत्त्व, सत्य तथा मिथ्या, निर्वाण तथा संसार, व्यवहार तथा परमार्थ सबैमा रहेको हुन्छ । यसरी दुवैतिर शून्यको सम्बन्धलाई जोड्ने मध्यममार्गको अनुसरण शून्यवादले गर्ने हुँदा यसलाई माध्यमिक दर्शन भनिएको हो । उनीहरूका विचारमा व्यवहारमा शून्यको तात्पर्य स्वभावशून्य अर्थात् कुनै वस्तुको आफ्नो निजी स्वतन्त्रसत्ता नहुनु भन्ने हुन्छ भने परमार्थमा प्रपञ्चरहित भन्ने हुन्छ ।
नागार्जुनले स्थापना गरेको माध्यमिक दर्शनको व्याख्या गर्ने क्रममा उत्तरवर्ती आचार्यहरूले दुई प्रकारका मतहरू अघि सारेको भेटिन्छ । शून्यताको पुष्टिका लागि आचार्य बुद्धपालितले प्रसङ्गवाक्यको प्रयोग गर्दै शून्यतत्त्वलाई कुनै पनि तर्क र प्रमाणद्वारा पुष्टि गर्न नसकिने मत अगाडि सारे । तर भावविवेकले बुद्धपालितले अघि सारेका प्रसङ्गवाक्यमा हेतु र दृष्टान्तको अभाव रहेकाले शून्यताको पुष्टि नहुने तथा त्यसका लागि हेतु र दृष्टान्त आवश्यक रहेको भन्दै स्वतन्त्रहेतु, तर्क र दृष्टान्तको प्रयोग गरी स्वातन्त्रानुमान प्रमाणको परिकल्पना गरी शून्यताको पुष्टि गरे । शून्यताको पुष्टिका सम्बन्धमा यी दुवै प्रसङ्गवाक्यवादी र स्वतन्त्रहेतुवादी आचार्यहरूका बीचमा प्रमुख विवादको विषय के हो ? भन्ने सन्दर्भको चर्चा यस शोधलेखमा गरिएको छ ।
समस्या
यस शोधलेखको क्षेत्र शून्यवाद वा माध्यमिकदर्शन हो भने माध्यमिकदर्शनमा देखिएका स्वातन्त्रिकमाध्यमिक र प्रासंगिकमाध्यमिकका अवधारण यसका विषय हुन् । लेखको शीर्षकले अपेक्षा गरेको प्रमुख समस्या स्वातन्त्रिकमाध्यमिक र प्रासंगिकमाध्यमिकका शून्यता सम्बन्धी मान्यता के–कस्ता रहेका छन् र उनीका बीचको विवादको विषय के हो भन्ने सन्दर्भमा चन्द्रकीर्तिले प्रसन्नपदा ग्रन्थमा उल्लेख गरेअनुसारका मान्यता र विवादका विषयलाई आधार मानी निम्न समस्या निर्धारण गरिएको छ—
क) स्वातन्त्रिक र प्रासंगिकमाध्यमिकका शून्यता सम्बन्धी मान्यता के–कस्ता रहेका छन्?
ख) स्वातन्त्रिक र प्रासंगिकमाध्यमिकका बीचको विवादको प्रमुख विषय के हो?
उद्देश्य
समस्या खण्डमा उल्लेख गरिएका दुईओटा समस्याको निम्नानुसार समाधान खोज्नु प्रस्तुत लेखको मूल उद्देश्य रहेको छ —
क) स्वातन्त्रिक र प्रासंगिकमाध्यमिकका शून्यता सम्बन्धी मान्यताको विश्लेषण गर्नु,
ख) स्वातन्त्रिक र प्रासंगिकमाध्यमिकका बीचको विवादको प्रमुख विषयको निर्धारण गर्नु ।
सैद्धान्तिक आधार
प्रस्तुत लेखमा विशेषतः माध्यमिकदर्शनमा देखिएका स्वातन्त्रिकमाध्यमिक र प्रासंगिकमाध्यमिकका मान्यता एवं माध्यमिकदर्शनका उत्तरवर्ती आचार्यहरुले उनीहरूका बीचमा प्रस्तुत गरेका विवादका विषयलाई आधार बनाई विषयको प्रतिपादन र विश्लेषण गरिएको छ । यसमा माध्यमिकदर्शनमा देखिएका स्वातन्त्रिकमाध्यमिक र प्रासंगिकमाध्यमिकका अवधारणा प्रस्तुत गर्नका लागि पूर्वविश्लेषित विभिन्न सिद्धान्तहरूको सहयोग लिइएकोले यस लेखको उक्त पक्ष निगमन विधिमा आधारित छ । स्वातन्त्रिक र प्रासंगिकमाध्यमिकका बीचको विवादको प्रमुख विषयको निर्धारण चाहिँ आगमन विधिमा आधारित रहेर गरिएको छ । प्रस्तुत लेखमा एपिए म्यानुअल अर्थात् एपिएलाई मुख्य आधार बनाइएको छ । यसमा पूर्वकार्य समीक्षालाई अलग्गै उपशीर्षकमा प्रस्तुत नगरेर सम्बद्ध विषयको विवेचनाका क्रममा स्वतः अनुस्यूत रहने गरी प्रस्तुत गरिएको छ ।
सीमाङ्कन
यो लेख मूलतः माध्यमिकदर्शनमा देखिएका स्वातन्त्रिकमाध्यमिक र प्रासंगिकमाध्यमिकका मान्यता एवं माध्यमिकदर्शनका उत्तरवर्ती आचार्यहरुले उनीहरूका बीचमा प्रस्तुत गरेका विवादका विषयलाई बोधगम्य बनाउन आवश्यकताअनुसार कतिपय स्थलमा माध्यमिकदर्शनका ग्रन्थबाट पनि सामग्रीहरू लिइएका छन् । छिटफुट रूपमा प्रयोग गरिएका अन्य ग्रन्थबाहेक यस लेखमा आधारग्रन्थको रूपमा नागार्जुनको माध्यमिककारिका र चन्द्रकीर्तिको प्रसन्नपदा टीकालाई लिइएको छ । प्रतिपादित विषयको सीमा चाहिँ उक्त ग्रन्थहरुमा प्रतिपादित स्वातन्त्रिकमाध्यमिक र प्रासंगिकमाध्यमिकका मान्यता हुन् । अर्थात् उक्त ग्रन्थका सीमामा रहेर स्वातन्त्रिक र प्रासंगिकमाध्यमिकका मान्यताको विश्लेषण र उनीहरू बीचको विवादको प्रमुख विषयको निर्धारण गर्नु यस लेखको सीमा रहेको छ ।
माध्यमिक दर्शनको उद्भव र विकास
माध्यमिक दर्शनको विकासमा बौद्ध दार्शनिकहरूको चरम तर्क बुद्धि प्रकट भएको पाइन्छ । यस मतको तार्किक विवेचन गर्ने प्रथम आचार्य नागार्जुन हुन् । बुद्धका उपदेशका रूपमा रहेका महायानसूत्रहरू मध्ये विशेषतः अष्टसाहस्रिका तथा शतसाहस्रिका प्रज्ञापारमितासूत्रहरूमा रहेका शून्यता सम्बन्धी र मध्यम मार्गको अनुसरण सम्बन्धी अवधारणाहरूलाई समेटेर तथा तिनलाई आफ्ना मौलिक विचार र तर्कहरूद्वारा पुष्ट गरेर माध्यमिक दर्शनको स्थापना गर्ने काम आचार्य नागार्जुनले गरेका हुन् । नागार्जुनले यस सिद्धान्तको स्थापना आफ्नो मौलिक ग्रन्थ माध्यमिककारिकामा गरेका छन् ।
नागार्जुनको जन्म समयका बारेमा बौद्ध साहित्यमा अधिक जानकारी पाइँदैन । लङ्कावतारसूत्र, मञ्जुश्रीमूलकल्प आदि ग्रन्थहरूमा नागार्जुनका बारेमा गरिएका अलौकिक भविष्यवाणीहरू उपलब्ध छन् । चिनियाँ परम्परामा नागार्जुन बुद्ध परिनिर्वाणको ७०० वर्ष पछाडि जन्मेका र बौद्ध परम्पराका महान् आचार्यहरूमा उनी बाह्रौँ क्रमसङ्ख्याका आचार्यमा पर्दछन् (पाण्डे, पृ, २९५ )भन्ने उल्लेख पाइन्छ । त्यस्तै महामेधासूत्रमा उल्लेख भविष्यवाणीअनुसार यिनको जन्म बुद्ध महापरिनिर्माणको ४०० बर्ष पछाडि भएको थियो (पाण्डे, त्यहीँ) । आचार्य बलदेवले पनि नागार्जुनलाई विक्रमको द्वितीय शताब्दीको पूर्वार्धका राजा गौतमीपुत्र यज्ञश्रीका समकालीन मानेका छन् (उपाध्याय, पृ. २३६ )। आर्यदेव नागर्जुनका साक्षत शिष्य हुन् । उनी विक्रमको द्वितीय शताब्दीमा विद्यमान थिए । त्यसैले नागार्जुनको समय द्वितीय शताब्दीको पूर्वार्ध हो भन्ने मत नै तर्कसङ्गत देखिन्छ । नागार्जुनपछि शून्यवादी सिद्धान्तलाई प्रष्टीकरण र विस्तार गर्ने कार्य आचार्य आर्यदेवले गरेका हुन् । तेस्रोदेखि पाँचौं शताब्दीसम्म माध्यमिक विचार नागार्जुन र आर्यदेवको विचारबाट अगाडि बढेको थियो । यो समयमा बौद्ध जगत्मा विज्ञानवादी आचार्यहरूको प्राबल्य रहेको थियो (उपाध्याय, पृ. २३६ ) । छैठौँ शताब्दीमा आचार्य भावविवेक र आचार्य बुद्धपालितले माध्यमिकदर्शनको पुनरुत्थान गर्ने काम गरे । आचार्य बुद्धपालितले नागार्जुनको माध्यमिककारिकामा ‘अकुतोभया’ (पाण्डे, पृ. ३१८) नामक व्याख्या लेखेका छन् । उनको यो व्याख्या ग्रन्थ संस्कृतमा उपलब्ध छैन । यसको तिब्बतीय अनुवादमात्र प्राप्त छ । यसमा उनले शून्यताको व्याख्याका लागि समस्त तर्कहरूको निन्दा गरेका छन् । उनका विचारमा शून्यताको ज्ञान केवल प्रातिभचक्षुले मात्र हुन्छ (उपाध्याय, त्यहीँ ) । उनले तर्क र दृष्टान्तका आधारमा शून्यताको ज्ञान नहुने विचार अघि सारेका छन् ।
बुद्धपालितभन्दा केही समय पछाडि जन्मिएका आचार्य भावविवेकले पनि माध्यमिककारिकाको प्रज्ञाप्रदीप नामक व्याख्या लेखेका छन् । उनले आफ्ना अनुयायीहरूलाई नागार्जुनद्वारा प्रतिपादित शून्यता एवं गहन सूक्ष्म तथ्यहरूको अवबोधनका लागि स्वतन्त्र तर्कहरू अगाडि सारेका छन् । आचार्य बुद्धपालितले शून्यतालाई तर्कद्वारा पुष्टि गर्न नसकिने तथा भावोत्पत्तिका सम्बन्धमा राखेका प्रसङ्गवाक्यहरूको निषेधका लागि र शून्यताको पुष्टिका लागि भावविवेकले स्वतन्त्रानुमानको सहारा लिएका छन् । त्यसैले उत्तरवर्ती आचार्यहरूले भावविवेकले अघि सारेका विचारलाई स्वतन्त्रमाध्यमिक र बुद्धपालितद्वारा अघि सारिएका विचारलाई प्रासंगिकमाध्यमिकका रूपमा चिनाएका छन् । प्रासंगिक र स्वातन्त्रिक मतको विवाद चन्द्रकीर्तिको आगमनसँगै सुरु भएको देखिए पनि यी दुई माध्यमिक मतलाई प्रासंगिक र स्वातन्त्रिक भनी नामकरण भने १४ औँ शताब्दीपछिका तिब्बती आचार्यहरूले गरेका हुन् ।
शून्यताको सिद्धिका लागि भावविवेकले अघि सारेका स्वतन्त्रानुमान र तर्कहरू तथा दिङ्नागको स्वतन्त्रविज्ञानवादको खण्डन गर्दै सातौँ शताब्दीका आचार्य चन्द्रकीर्तिले छैठौँ शताब्दीमा नै बुद्धपालितले अघि सारेको मतलाई बौद्ध जगत्मा आफ्नो तर्क र बुद्धिद्वारा स्थापना गर्ने काम गरे । नागार्जुनद्वारा प्रतिपादित माध्यमिक मतको व्याख्या उनले माध्यमिककारिकाको प्रसन्नपदा नामक टीकामा गरेका छन् । उनको यो टीका माध्यमिकदर्शनको प्रामाणिक टीका मानिन्छ । सातौँ शताब्दीभन्दा पछिको माध्यमिक मत चन्द्रकीर्तिकै टीकामा आधारित भएर अगाडि बढेको पाइन्छ । चौधौँ शताब्दीमा तिब्बतमा जन्मिएका आचार्य चोङ्खापाले प्रासंगिक मतको थप व्याख्या र प्रासंगिक मतका विशेषताहरूको निर्धारण गर्ने काम गरेका छन् । माध्यमिक दर्शनको विकासमा देखा परेका स्वतन्त्रमाध्यमिक र प्रासंगिकमाध्यमिकहरूको चर्चा यहाँ गरिएको छ –
स्वातान्त्रिकमाध्यमिक मत
स्वातान्त्रिकमाध्यमिक शाखाका प्रवर्तक आचार्य भावविवेक हुन् । यिनलाई भव्य नामले पनि सम्बोधन गरेको पाइन्छ । नागार्जुनद्वारा लिखित माध्यमिककारिकामा उल्लेखित मतको स्थापनाका लागि उनले माध्यमिककारिकामा प्रज्ञाप्रदीप टीकाको रचना गरे । उनले यस ग्रन्थमा नागार्जुनद्वारा माध्यमिककारिकामा प्रतिपादित सिद्धान्तहरूको आशय अवबोधनका लागि बुद्धपालितले राखेका तर्क र मान्यताहरूको खण्डन गर्दै स्वमतको स्थापना गरेका छन् । उनले स्वमतको स्थापनाका लागि माध्यमिककारिकाको टीकाका साथै मध्यमकहृदय नामक स्वतन्त्र ग्रन्थ प्रणयन गरे र यसमा तर्कज्वाला नामक स्ववृत्तिको पनि रचना गरे । उनले मध्यमकहृदय र तर्कज्वालामा बौद्ध तथा बौद्धेतरका प्रत्येक दर्शनका मतको खण्डन र स्वमतको मण्डनका लागि एक एक परिच्छेदको रचना गरेका छन् ।
आचार्य भावविवेकले आफ्ना ग्रन्थहरूमा विज्ञानवादले स्वीकार गरेका परिकल्पितलक्षण (लक्षण निःस्वभावता) आलयविज्ञान र दिङ्नाग आदि बौद्ध नैयायिकहरूले स्विकारेको स्वसंवेदनप्रत्यक्षको खण्डन गरेका छन् । भावविवेकले शून्यवादको समर्थनका लागि स्वतन्त्र अनुमानको सहारा लिए । उनले स्वतन्त्र अनुमानको पक्षका लागि परमार्थतः यस्तो विशेषण प्रयोग गरेका छन् । यहाँ हेतुमा विपक्षव्यावृत्ति छैन तथा अनुमिति प्रसज्यप्रतिषेधात्मक छ । उदाहरणका लागि – उनले गरेको प्रयोग यस्तो छ- परमार्थतः आध्यात्मिकायतनानि स्वतो नोत्पद्यन्ते, विद्यमानत्वात्, यथा चैतन्यम् ( माध्यमिककारिका, पृ. ९ ) । यहाँ परमार्थतः विशेषण प्रयोगको उद्देश्य के हो भने चक्षुरादि आयतनहरू सांवृत्त उत्पाद प्रतिषेध्य छैनन् । यहाँ स्वतः उत्पाद निषेधमा परतः उत्पाद इप्सित नभएकाले यहाँ प्रसज्यप्रतिषेध र पर्युदासप्रतिषेध दुबै स्वीकार्य छैनन् भन्ने उनको मत हो ।
आचार्य भावविवेकले स्वतन्त्र अनुमानको समर्थन गर्नुका साथै बुद्धपालितद्वारा प्रतिपादित प्रसङ्ग अनुमानको निराकरण गर्ने कार्य गरेका छन् । भावविवेकका अनुसार माध्यमिककारिकाकको आशयबोधनका लागि बुद्धपालितले प्रयोग गरेका प्रसङ्ग अनुमानमा हेतु र दृष्टान्तको अभाव छ, पर आक्षेप र दोषको परिहार गरिएको छैन तथा प्रसङ्ग वाक्यलाई उल्ट्याएर विपरीत अर्थ निकाल्न सकिने भएकाले प्रसङ्ग अनुमानवादी मतको औचित्य छैन् भन्ने उनको तर्क छ ।
बुद्धपालितले गरेको माध्यमिककारिकाको व्याख्यालाई भावविवेकले त्रुटिपूर्ण मानेका छन् । जस्तै बुद्धपालितले माध्यमिककारिकाको ‘न स्वतो नापि परतो……….’( माध्यमिककारिका, १।३) कारिकाको व्याख्यामा स्वतः उत्पादको निषेधका लागि ‘न स्वतः उत्पद्यन्ते भावाः, तदुत्पादवैयर्थ्याद् अतिप्रसङ्गदोषाच्च । न हि … ( माध्यमिककारिका, पृ. ५) इत्यादि वाक्यको प्रयोग गरेका छन् तर भावविवेकको कथन छ – तदयुक्तं हेतुदृष्टान्तानभिधानात्परोत्तदोषापरिहाराच्च प्रकृतार्थविपर्येण विपरीतार्थसाध्यतद्धर्मव्यक्तौ परस्मादुत्पन्ना भावाजन्मसाफल्याज्जन्मनिरोधाच्चेति कृतान्तविरोधः स्यात् ( माध्यमिककारिका, त्यहीँ) ।
माथिको वाक्यमा बुद्धपालितले स्वतः उत्पादको निषेधका लागि प्रसङ्ग वाक्यको उल्लेख गरे तर उनले हेतु र दृष्टान्त भने देखाएनन् । यहाँ उनले सांख्य आदि सत्कार्यवादीले लगाउने संभावित आरोपको निराकरण पनि गरेका छैनन् । सांख्यवादीहरू अभिव्यक्त अंकुर आदि फलको स्वतः उत्पाद मान्दैनन् र कारणकालीन अनभिव्यक्त फलको स्वत उत्पाद् पनि व्यर्थ मान्दैनन् । त्यसैले बुद्धपालितले जसरी प्रसङ्ग वाक्यको उल्लेखबाट मात्रै सम्भावित आक्षेपको निराकरण हुन सक्दैन भन्ने विचार भावविवेकले प्रस्तुत गरेको देखिन्छ ।
बुद्धपालितले झैँ प्रसङ्गवाक्यलाई ग्रहण गर्दै जाने हो भने यसबाट सम्बद्ध साध्य र हेतुको विपरीतार्थ आफ्नो पक्षमा स्वीकृत हुन थाल्दछ । यस्तो अवस्थामा न स्वतः उत्पद्यन्ते भावाः को विपरीत परत उत्पद्यन्ते भावाः हुनुपर्छ । त्यस्तै तदुत्पादवैयर्थ्याद्को विपरीत तदुत्पादसाफल्याद् हुनुपर्छ ( माध्यमिककारिका, त्यहीँ ) । यदि यस्तो स्थितिमा परत उत्पाद स्वीकार गर्नुपर्दछ, यसरी स्वीकार गर्दै जाने हो भने नागर्जुनको साध्य विषय स्वतः उत्पादको निषेधमात्र सिद्धान्तको विरोध हुन्छ भन्ने विषय भावविवेकले प्रस्तुत गरेका छन् ।
परत उत्पादको निषेधका लागि बुद्धपालितले— न परत उत्पद्यन्ते भावाः सर्वतः सर्वसम्भवप्रसङ्गात् ( माध्यमिककारिका, पृ. १२) भन्दै सांख्यमतको सहारा लिएको देखिन्छ । यसको निषेधका लागि भावविवेकको कथन छ — तदत्र प्रसङ्गवाक्यात् साध्यसाधनविपर्ययं कृत्वा स्वतः उभयत अहेतुतो वा उत्पद्यन्ते भावाः, कुतश्चित् कस्यचिदुत्पत्तेः, इति प्राक्पक्षविरोधः, अन्यथापि सर्वतः सर्वसंभवप्रसङ्गात् इत्यस्य साधनदूषणान्तः पातित्वादसङ्गतार्थमेतत् ( माध्यमिककारिका, त्यहीँ) । यदि बुद्धपालितले भने झैँ प्रसङ्गवाक्यमा रहेको साध्यधर्ममा तथा पक्षधर्मको विपरीतार्थलाई स्वीकार गर्ने हो भने वस्तुहरूको परत उत्पादबाहेक स्वतः, उभयतः र अहेतुत उत्पादलाई मान्नुपर्ने हुन्छ किनभने परत उत्पादनलाई बुद्धपालितले निषेध गरिसकेका छन् । माथिको वाक्यमा आएको सर्वतः सर्वसम्भवप्रसंगात् प्रसङ्ग वाक्यको विपरीतार्थ कुतश्चित् कस्यचिदुत्पादः हो । यसै हेतुबाट वस्तुको कुनै पनि उत्पादलाई देखाउनुपर्ने हुन्छ । त्यस अवस्थामा वस्तुको परत उत्पाद मात्र साध्य हुन सक्दैन । यस प्रयोगमा परत उत्पादवादमा प्रत्यक्ष आदि कुनै पनि प्रकारको विरोध देखाइएको छैन । यसले नागर्जुनको साध्यलाई सिद्ध गर्न सक्दैन । त्यसैले यो प्रयोग असंगत छ । यसबाट इष्ट सिद्धान्तलाई प्रमाणित गर्न सकिँदैन भन्ने भावविवेकको मत हो ।
अहेतुत उत्पादको निषेधका लागि बुद्धपालितले अहेतुतो नोत्पद्यन्ते भावाः, सदा च सर्वतश्च सर्वसम्भवप्रसंगात् भन्दै प्रसङ्गवाक्यको प्रयोग गरेका छन् । यसै सन्दर्भमा भावविवेकको कथन छ— अत्रापि प्रसङ्गवाक्यात्वात्, यदि विपरितसाध्यसाधनव्यक्तिवाक्यार्थ इश्यते तदा एतदुक्तं भवति, हेतुत उत्पद्यन्ते भावाः, कदाचित् कुतश्चित् कस्यचिदुत्पत्तेः, आरम्भसाफल्याच्च, सेयं व्याख्या न युक्ता प्रागुक्तदोषात् ( माध्यमिककारिका, पृ. १३) । भावविवेकका अनुसार सबै दोष यहीँ छ । नैयायिकहरूका अनुसार पनि प्रसङ्गलाई हेतुका अभावमा अनुमान सिद्ध गर्न सकिँदैन । यदि प्रसङ्गवाक्य अनुमानको विषय बन्न सक्दैन भने प्रसङ्गलाई कुनै प्रमाणमा अन्तर्भाव गर्न पनि सकिँदैन भन्ने भावविवेकको मत हो । त्यसैले बुद्धपालितको प्रस्तुत विचारलाई उनले खण्डन गरेका हुन् ।
भावविवेकले प्रसङ्गवाक्यमा दोषापत्तिमात्र गरेनन् । उनले परमार्थ र संवृत्ति सत्यको व्याख्यामा पनि नवीन मत प्रस्तुत गरे । उनका अनुसार संवृत्ति र परमार्थ दुई दुई किसिमका छन् । उनका विचारमा अपर्याय परमार्थ अनभिसंस्कार, लोकोत्तर, अनाश्रव र अप्रपञ्च गुणले युक्त छ । त्यस्तै पर्याय परमार्थ साभिसंस्कार, प्रपञ्चानुगत लक्षणले युक्त हुन्छ र यो कल्पनालोमिक परमार्थ ज्ञान हो ( पाण्डे, पृ. ३१९) । उनका विचारमा तथ्यसंवृत्ति र मिथ्यासंवृत्ति गरी संवृत्ति पनि दुई किसिमका छन् । परमार्थाश्रित देशना तथ्य संवृत्ति हो र त्यो परमार्थको शब्द र तर्कका स्तरमा अभिव्यक्त हुन्छ । उनले भ्रमात्मक ज्ञानलाई मिथ्या संवृत्तिका रूपमा व्यक्त गरेका छन् । उनले तथ्य संवृत्ति र पर्याय परमार्थलाई प्रतीयमान मिथ्या जगत्बाट प्रपञ्चातीत, अनिर्वाच्य सत्य परमार्थमा पुर्याउने सेतुका रूपमा अर्थ्याएका छन् ।
भावविवेकको पर्याय परमार्थ र अपर्याय परमार्थको विभाजन वेदान्तीहरूको सोपाधिक र निरुपाधिक ब्रह्मको विभाजनसँग साम्य देखिन्छ । त्यस्तै वेदान्तीहरूले माया (संवृत्ति)लाई विद्या र अविद्याका रूपमा विभाजन गरे झैँ भावविवेकले तथ्य र मिथ्यासंवृत्तिको उल्लेख गरेका छन् । मिथ्याबाट सत्य, संवृत्तिबाट परमार्थ, अपरोक्ष ज्ञानबाट परोक्ष ज्ञानमा पुग्न सकिने तथ्य उनले अगाडि सारेका छन् । उनको विचारमा परोक्ष ज्ञान नै परमार्थको मार्ग हो । उनले यसका लागि स्वतन्त्र हेतुवादलाई स्वीकार गरे । यही हेतुवादको आलोचना चन्द्रकीर्तिले गरेका हुन् । भावविवेकभन्दा पछाडि शान्तरक्षित, कमलशील, हरिभद्र आदि आचार्यहरूले स्वातन्त्रमाध्यमिकमतको अनुसरण गरेको पाइन्छ ।
प्रासङ्गिकमाध्यमिक मत
नागार्जुनको माध्यमिककारिकामा प्रतिपादित विषयको आशयावबोधनका लागि बुद्धपालितले व्यक्त गरेको मतलाई प्रासंगिक माध्यमिकको आद्य मत मानिन्छ । उनले शून्यवादका सम्बन्धमा राखेका मतलाई उनी भन्दा पछाडि शून्यवादको व्याख्या गर्ने अर्का आचार्य भावविवेकले शून्यवादको पुष्टिका लागि स्वतन्त्र हेतु र तर्कको प्रयोग नगरेकाले उनका विचारहरू परपक्षले खण्डन गर्न सक्ने भन्दै आलोचना गरे । भावविवेक स्वतन्त्र हेतुवादी आचार्य हुन् तर उनले शून्यताको स्थापना र परमार्थ स्वभावसत्ताको निषेधका लागि कतिपय ठाउँहरूमा विरुद्धोपलब्धि हेतुहरूको प्रयोग गरेका थिए । जस्तैः चक्षुः परमार्थतः रूपं न पश्यति, इन्द्रियत्वात्, श्रोत्रवत् । त्यस्तै अर्को प्रयोग यस्तो छ— पृथ्वीधातुः परमार्थतो न काठिन्यस्वभावः, महाभूतत्वात्, जलवत् ( थुबतन छोगडुब, पृ. १२७) आदि । भावविवेकले शून्यता र स्वभावसत्ताको निषेधका लागि प्रस्तुत गरेका स्वतन्त्र हेतुहरूको निषेध आचार्य चन्द्रकीर्तिले गरे । बुद्धपालितले अगाडि सारेका शून्यवाद सम्बन्धी मतलाई बेजोड तर्कशक्तिद्वारा पुष्टि गर्ने काम चन्द्रकीर्तिले नै गरेका हुन् । उनले उद्धार गरेको मत नै बौद्ध जगत्मा प्रासंगिक माध्यमिक नामले चिनिन्छ ।
चन्द्रकीर्तिका अनुसार माध्यमिक दर्शनको पुष्टिका लागि कुनै स्वतन्त्र तर्कको आवश्यकता पर्दैन । माध्यमिक दर्शनको कुनै प्रमाण वा प्रतिज्ञा हुँदैन किनभने माध्यमिक दर्शनका प्रत्येक मत युक्ति विपरित र असिद्ध छन् । निश्चयानिश्चय परस्पर सापेक्ष कुरा हुन् । माध्यमिक दर्शनमा न कुनै निश्चय छ न त अनिश्चय नै । त्यसैले माध्यमिकहरू प्रमा र प्रमेयको झन्झटमा अल्झिनु पर्दैन । आर्यजनहरूले लोक व्यवहारमा तत्त्वको उपदेश दिँदा स्वतन्त्र प्रमाण सहारा लिँदैनन् । उनीहरू लोक प्रसिद्ध प्रमाण र तर्कद्वारा तत्त्व बुद्धिगम्य नरहेको र निर्विकल्प साक्षात्कारको विषयका रूपमा रहेको कुरा लोकलाई बुझाउने गर्दछन् ।
तर्कागोचर प्रपञ्चरहित जगत्का सम्पूर्ण विषय र धर्मलाई असत् मान्ने शून्यतत्त्व आफैँमा सत्य छ । बुद्धि र वाणीको मिथ्यात्वले शून्यताको मिथ्यात्वलाई सिद्ध गर्न सक्दैन । शून्यतत्त्व असत् नभएर प्रतीत्यसमुत्पाद हो । चन्द्रकीर्तिका अनुसार प्रति उपसर्ग पूर्वमा रहेको इण् धातुमा ल्यप् प्रत्ययको योगबाट निष्पन्न प्रतीत्य शब्दको अर्थ प्राप्त गरेर वा अपेक्षा गरेर भन्ने हुन्छ भने सम् र उत् उपसर्ग पूर्वमा रहेको पद् धातुबाट बनेको समुत्पाद शब्दको अर्थ प्रादुर्भाव भन्ने हुन्छ ( माध्यमिककारिका, पृ. १२) । प्रस्तुत प्रतीत्यसमुत्पाद परमार्थतः अनिरोध, अनुत्पाद, अनुच्छेद, अशाश्वत, अनेक, अननेक, अनागम र अनिर्गम गरी आठ किसिमका विशेषताले युक्त प्रपञ्चोपशम र शिव स्वरूपको हुन्छ ( अनिरोधमनुत्पादमनुच्छेदमशाश्वतम् । अनेकार्थमनानार्थमनागममनिर्गमम् । यः प्रतीत्यसमुत्पादः प्रपञ्चोपशमं शिवम् । माध्यमिककारिका, १ : १ ) । यस सिद्धान्तअनुसार हेतुप्रत्ययको अपेक्षा गरेर भावहरूको उत्पाद वा प्रादुर्भाव हुन्छ । त्यसैले सम्पूर्ण भाव वा पदार्थहरू स्वभावशून्य वा निःस्वभावात्मक हुन्छन् ।
माध्यमिकहरू सर्वशून्यवादी हुन् । त्यसैले उनीहरूका मतमा उनीहरू आफैँको मतसमेत असिद्ध छ भन्ने परपक्षको आरोपमा चन्द्रकीर्तिको कथन छ— स्वतन्त्रानुमानं ब्रुवतायं दोषो जायते । न वयं स्वतन्त्रमनुमानं प्रयुञ्ज्महे, परप्रतिज्ञानिषेधफलत्वाद् अस्मदनुमानम् ( माध्यमिककारिका, पृ. ३२ ) । अर्थात् हामी माध्यमिकहरू परपक्षका मतमा देखिएका अन्तरविरोधका कुरालाई परस्परमा विरोध देखाएर असिद्ध भन्छौँ । हाम्रा प्रमाण र तर्कको फल केवल परप्रतिज्ञाको निषेध मात्र हो । चन्द्रकीर्तिेले परमत खण्डनमा प्रयोग गरेका मत उनका स्वतन्त्र मत होइनन् । उनले परपक्षको तत्वको सिद्धिका लागि स्वीकृत गरेका तर्क र प्रमाणका आधारमा उनीहरूको प्रतिज्ञाको निषेध गरेका छन् । उनी माध्यमिकमतको स्थापनाका लागि स्वतन्त्र तर्कमा विश्वास गर्दैनन् । त्यसैले भावविवेकले अगाडि सारेका स्वतन्त्र तर्क र अनुमानको उनले खण्डन गरेका हुन् ।
प्रासङ्गिक मतलाई व्यवस्थित तरिकाबाट व्याख्या गर्ने अर्का आचार्य चोङ्खापा हुन् । उनी १४ औं शताब्दीमा तिब्बतमा जन्मेका थिए (थुबतन छोगडुब, पृ. १) । उनको माध्यमिककारिका वृहट्टीका न्यायसागर तिब्बती भाषामा उपलब्ध छ । उनले बौद्ध दर्शनका समग्र मान्यताहरूलाई ख्याल गरेर प्रासंगिक माध्यमिकका आठ प्रकारका विशेषताको उल्लेख गरेका छन् । जो निम्नानुसार छन् (त्यहीँ, पृ. १२७ ) –
१. स्वलक्षणसत्ता व्यवहारतः असिद्ध मान्नु,
२. आलयविज्ञानको अस्तित्व स्वीकार नगर्नु,
३. व्यवहारमा बाह्यार्थको अस्तित्व स्वीकार गर्नु,
४. स्वसंवेदन प्रत्यक्षको अस्तित्व स्वीकार नगर्नु,
५. स्वातान्त्रिक हेतुलाई स्वीकार नगर्नु,
६. द्विविध आवरणलाई विशेषरूपमा प्रतिपादन गर्नु,
७, श्रावक र प्रत्येकबुद्ध पनि निःस्वभावताको ज्ञान हुनु,
८. बुद्ध अवस्थामा यावन्ज्ञानको स्थिति हुनु,
यहाँ उल्लेख गरिएका प्रासङ्गिक दर्शनका आठ विशेषताहरूमा पनि चारवटा विशेषता निषेधात्मक र चारवटा विशेषता विद्यात्मक देखिन्छन् । यहाँ स्वलक्षणसत्ता, आलयविज्ञान, स्वसंवेदन प्रत्यक्ष र स्वातन्त्र हेतुलाई निषेध गरिएको छ भने व्यवहारमा बाह्यार्थसत्ता, द्विविध आवरण, श्रावक र प्रत्येक बुद्धमा धर्मनैरात्म्यको ज्ञान तथा बुद्धावस्थामा यावज्ज्ञान हुने कुरालाई स्वीकार गरिएको छ ।
स्वातन्त्रिक र प्रासङ्गिकमाध्यमिकका बीचमा विवादको प्रमुख विषय
स्वातन्त्रिकमाध्यमिक र प्रासङ्गिकमाध्यमिकका बीचमा संवृतिसत्य, परमार्थसत्य, आलयविज्ञानको अस्तित्व, बाह्यार्थसत्ताको स्वरूप स्वसंवेदनप्रत्यक्ष आदि अनेक विषयमा मतभिन्नता पाइन्छ तर पनि दुवैका बीचमा प्रमुख विवादको विषय भनेको स्वलक्षणसत्ता नै हो । स्वलक्षणसत्ता भन्नाले वस्तुमा, पदार्थमा वा व्यक्तिमा रहेको अरूसँग पृथक् बनाउने असाधारण लक्षण हो । यसलाई कसैले अर्थक्रियासामर्थ्यत्व र कसैले अस्तित्व भनेर चिनाएका छन् । यही स्वलक्षणसत्तालाई प्रासङ्गिकमाध्यमिकहरूले निषेध गरे भने स्वतन्त्रिकमाध्यमिकहरूले समर्थन गरे ।
विशेष गरेर भावविवेकले स्वलक्षणसत्ता स्वीकार नगर्दा कुनै पनि भाव वा वस्तुको किञ्चिदपि अस्तित्व नरहने र सबै वस्तु, भाव वा पदार्थको अस्तित्व खपुष्पवत् वा बन्ध्यापुत्रवत् अनस्तित्वमा परिणत हुने डरले मूलमाध्यमिककारिकाको व्याख्या गर्ने क्रममा उनले सबैतिर परमार्थतः यस्तो विशेषण पदको प्रयोग गरेका छन् । उनले स्वलक्षणसत्ता र शून्यताको पुष्टिका लागि स्वतन्त्रानुमान, स्वतन्त्र हेतु, दृष्टान्त र तर्कको प्रयोग गरेका थिए तर प्रासंगिकमाध्यमिकहरूले स्वलक्षणसत्ता, स्वभावसत्ता, द्रव्यसत्ता र परमार्थसत्तालाई समान मान्दै स्वतन्त्रानुमान, स्वतन्त्र हेतु, दृष्टान्त र स्वतन्त्रतर्कको प्रयोगबाट माध्यमिकमतको स्थापना हुन नसक्ने भन्दै भावविवेकको मतलाई खण्डन गरेका छन् । आचार्य चन्द्रकीर्तिका अनुसार भावविवेकले सवैतिर परमार्थतः यस विशेषणको प्रयोगबाट परमार्थको निषेध गरे पनि स्वलक्षणसत्तालाई स्विकारेका छन् । प्रासङ्गिकहरूका मतमा स्वलक्षणसत्ताको निषेध विना परमार्थसत्ताको निषेध हुन सक्दैन । परमार्थको निषेधका लागि स्वलक्षणसत्ताको निषेध हुनैपर्दछ । यो नै स्वतन्त्रमाध्यमिक र प्रासङ्गिकमाध्यमिकहरूको विवादको प्रमुख विषय हो ।
उपसंहार
माध्यमिक दर्शनको तार्किक विवेचन गर्ने प्रथम आचार्य नागार्जुन हुन् । उनले बुद्धोपदेशका रूपमा रहेका महायानसूत्रहरूमा रहेका शून्यता सम्बन्धी र मध्यम मार्गको अनुसरण सम्बन्धी आवधारणाहरूलाई समेटेर माध्यमिक दर्शनको स्थापना गरेका हुन् । नागार्जुनले यस सिद्धान्तको स्थापना माध्यमिककारिका नामक ग्रन्थमा गरेका छन् । नागार्जुनपछि माध्यमिक दर्शनको विकासमा आर्यदेव, बुद्धपालित, भावविवेक र चन्द्रकीर्तिको विशेष योगदान रहेको छ ।
नागार्जुनको माध्यमिककारिकामा प्रतिपादित तत्त्वको विवेचन गर्ने पहिलो आचार्य बुद्धपालित हुन् । उनले शून्यता तथा भावोत्पत्तिका सम्बन्धमा प्रसङ्गवाक्यहरूको प्रयोग गरेर शून्यतालाई तर्कद्वारा पुष्टि गर्न नसकिने तथ्य स्थापित गरे । बुद्धपालितले प्रयोग गरेका प्रसङ्गवाक्यहरूको निषेध र शून्यताको पुष्टिका लागि भावविवेकले स्वतन्त्रानुमान, स्वतन्त्र तर्कको सहारा लिए । त्यसैले अहिले भावविवेकले अघि सारेका विचारलाई स्वातन्त्रमाध्यमिक र बुद्धपालितद्वारा अघि सारेका विचारलाई प्रासङ्गिकमाध्यमिक भनेर चिनिन्छ । चन्द्रकीर्तिले भावविवेकले अघि सारेका स्वतन्त्रानुमान र तर्कहरू तथा दिङ्नागलगायतका मतको खण्डन गर्दै बुद्धपालितले अघि सारेको मतलाई बौद्ध जगत्मा आफ्नो तर्क र बुद्धिद्वारा स्थापना गर्ने काम गरे । उनी पछिको माध्यमिक मत उनकै व्याख्यामा आधारित भएर अगाडि बढेको पाइन्छ ।
स्वातन्त्रिकमाध्यमिक र प्रासङ्गिकमाध्यमिकका बीचमा संवृतिसत्य, परमार्थसत्य, आलयविज्ञानको अस्तित्व, बाह्यार्थसत्ताको स्वरूप स्वसंवेदनप्रत्यक्ष जस्ता अनेक विषयमा मतभिन्नता भए पनि दुवैका बीचमा प्रमुख विवादका विषयहरू भनेका स्वलक्षणसत्ता, प्रसङ्गवाक्य र स्वतन्त्रानुमान हुन् । भावविवेकले सवैतिर परमार्थतः भन्ने विशेषणको प्रयोगबाट परमार्थको निषेध गरे पनि स्वलक्षणसत्तालाई स्विकारेका छन् । प्रासङ्गिकहरूका मतमा स्वलक्षणसत्ताको निषेध विना परमार्थसत्ताको निषेध हुन सक्दैन । यो नै स्वातन्त्रमाध्यमिक र प्रासङ्गिमाध्यमिकहरूको विवादको प्रमुख विषय हो ।
सन्दर्भग्रन्थहरू
उपाध्याय, बलदेव (सन् १९८१), बौद्धदर्शनमीमांसा, वाराणसी : चौखम्वा विद्याभवन ।
उपाध्याय, भरतसिंह (सन् १९९६), बौद्धदर्शन तथा अन्य भारतीय दर्शन, प्रथम भाग, दिल्ली : मोतिलाल वनारसीदास ।
छोगडुब, थुबतन (सन् १९८९), भोट देश मे माध्यमिक दर्शन, लदाख : केन्दीय बौद्ध विद्यासंस्थान ।
नागार्जुन (सन् १९८९), मध्यामिककारिका, मूलसहिता, वाराणसी : बौद्धभारती ।
नरेन्द्रदेव (सन् १९९६), बौद्धधर्मदर्शन, पु.मु., दिल्ली : मोतिलाल वनारसीदास ।
पाण्डे, गोविन्दचन्द्र (सन् २००६), बौद्ध धर्म के विकास का इतिलास, लखनऊ : उत्तर प्रदेश हिन्दी संस्थान ।
वंशल, सत्यप्रकाश (वि. २०६१), भारतीय दर्शनमा के छ ?, अनु. अर्जुनदेव शर्मा, काठमाडौं : परिवेश प्रकाशन ।
शर्मा, तुलसीराम (सन् २००७), महायान बौद्धधर्म की रूपरेखा, अनु. ?, दिल्ली : ईस्टर्न बुक लिंकर्स ।
शर्मा राममूर्ति (सन् १९९९), भारतीय दर्शनकी चिन्तनधारा, दिल्ली : मणिद्वीप ।
शुक्ल, परमेश्वरदत्त (सन् २००८), वैयाकरणसिद्धान्तकौमुदी, वाराणसी : भारतीय विद्या संस्थान ।