बुद्धका उपदेशको अनुसरण गरी बौद्धदर्शन विभिन्न सम्प्रदायको रूपमा संसार भरी फैलिएको छ। बौद्धदर्शनमा आर्यसत्य, अष्टाङ्गी मार्ग, प्रतीत्यसमुत्पाद, अनित्यता, अनात्मता, मध्यममार्ग, निर्वाण, शून्यता, दशभूमि आदि विभिन्न सिद्धान्तहरू प्रचलित छन्। महायानको मुख्य उद्देश्य भनेकै बुद्धत्व लाभ गरी संसारका सबै प्राणीहरूको दुःख मोचन गरेर शान्ति र सुखको प्राप्ति गराउनु हो।
निरज दाहाल
उपप्राध्यापक, बॏद्धदर्शन, ने.सं.वि., वाल्मीकि विद्यापीठ, काठमाण्डौ
nirajdahaldrn@gmail.com
सार
बुद्धका उपदेशको अनुसरण गरी बौद्धदर्शन विभिन्न सम्प्रदायको रूपमा संसार भरी फैलिएको छ। बौद्धदर्शनमा आर्यसत्य, अष्टाङ्गी मार्ग, प्रतीत्यसमुत्पाद, अनित्यता, अनात्मता, मध्यममार्ग, निर्वाण, शून्यता, दशभूमि आदि विभिन्न सिद्धान्तहरू प्रचलित छन्। महायानको मुख्य उद्देश्य भनेकै बुद्धत्व लाभ गरी संसारका सबै प्राणीहरूको दुःख मोचन गरेर शान्ति र सुखको प्राप्ति गराउनु हो। त्यसका लागि मन, वचन र शरीरका सम्पूर्ण विकारहरूबाट मुक्त भई चित्त शुद्ध हुन अत्यावश्यक छ। महायान अन्तर्गतको विज्ञानवाद वा योगाचार दर्शनले प्रमुदिता भूमि, विमला भूमि, प्रभाकरी भूमि, अर्चिष्मती भूमि, सुदुर्जया भूमि, अभिमुखी भूमि, दूरंगमा भूमि, अचला भूमि, साधुमती भूमि, धर्ममेघा भूमि, यी दशभूमिरूपी ज्ञानका आधारहरू वा तहहरूको क्रमिक रूपमा ध्यान वा अभ्यास गर्नाले मात्रै बुद्धत्व लाभ गर्न सकिन्छ भनी व्याख्या गर्दछ। यो दशभूमि सिद्धान्त के हो ? र यसको बौद्धदर्शनका विभिन्न ग्रन्थहरूमा कसरी व्याख्या गरिएको छ ? यी प्रत्येक भूमिमा के अभ्यास गरिन्छ ? र के प्राप्ति हुन्छ ? भनी यहाँ अनुसन्धान गरिएको छ। बौद्धदर्शनका विभिन्न ग्रन्थहरूमा दशभूमिका साथै अरू विभिन्न भूमिवाचक शब्दहरूको प्रयोग र भूमिको संख्यामा पनि रहेको असमानतालाई दशभूमि बाहेक अरू भूमिहरूको उल्लेख सप्रमाण पर्यायवाची वा अज्ञान अर्थमा भएको हो र सबै आचार्यहरूले दशभूमिलाई नै प्रज्ञा, समाधि र बुद्धत्व प्राप्तिको आधिकारिक बाटो हो भनी स्वीकारेका छन् भन्ने निष्कर्ष निकालिएको छ।
शब्दकुञ्जी : योगाचार, माध्यमिक, नवरत्न, प्रज्ञापारमिता, दशभूमि।
१. विषय परिचय
बुद्धद्वारा प्रतिपादित दर्शन नै बौद्ध दर्शन हो। आजभन्दा २६०० वर्ष अगाडि नेपालको तराई क्षेत्रमा कपिलवस्तु गणराज्यमा गौतम बुद्धको जन्म भएको थियो। उहाँ राजा शुद्धोदन र महारानी महामायाका ज्येष्ठ सुपुत्र हुनुहुन्थ्यो। उहाँको जन्मले राज्यमा धन सम्पतिको अपार वृद्धि भएकाले उहाँको नाम सिद्धार्थ गौतम राखियो। उहाँले २९ वर्षसम्म सम्पूर्ण राजकीय सुखसुविधा भोग गर्नुभयो। उहाँको स्वभाव शान्त थियो। २९ वर्षको उमेरमा चार निमित्तको दर्शनपछि सांसारिक सुख सुविधाले जन्म-मृत्यु मात्रै गराउँदछ, जन्म-मृत्युको चक्रबाट छुटकारा पाइँदैन भनी अमृततत्त्व खोजी गर्ने उद्देश्यले राजकाज, सुखसयल, सुन्दरी श्रीमती र नाबालक छोरा सबैलाई त्याग गरी परमार्थको खोजमा कठोर तपस्या, साधना र अध्ययन गर्न थाल्नुभयो। उहाँले सुरुमा अराड कालाम र उद्रक रामपुत्रसँग ध्यान विधिहरू सिक्नुभयो। गुरुहरूको ज्ञानबाट आफूले खोजेको तत्त्व प्राप्त गर्न सक्दिनँ भन्ने भएपछि कठोर ध्यान साधना गर्न थाल्नुभयो। ६ वर्षम्मको कठोर तपस्या र ध्यानबाट शरीर अन्त्य हुने अवस्था आएपछि उहाँले शरीरलाई अति दुख दिएर र अति सुख दिएर ज्ञान प्राप्त हुँदैन भन्ने विचार गरी मध्यम बाटो अपनाउने बैशाख पूर्णिमाको अघिल्लो दिन निर्णय गर्नुभयो र सुजाता नाम गरेकी कन्याले दिएको खीर खाई अब म ज्ञान नपाउन्जेल यहाँबाट उठ्ने छैन भनी बोधिवृक्ष मुनि बसी ध्यान गर्न सुरु गर्नुभयो। सोही पूर्णिमाको रात प्रथम प्रहरमा सम्पूर्ण पूर्व जन्मरूपी प्रथम ध्यान, द्वितीय प्रहरमा दिव्य चक्षुरूपी द्वितीय ध्यान, तृतीय प्रहरमा द्वादश प्रतीत्यसमुत्पादको साक्षात्काररूपी तृतीय ध्यान र अरूणोदयमा सर्वज्ञतारूपी चतुर्थ ध्यानलाभ गरी बुद्धत्व प्राप्त गर्नुभयो।
आफूले साह्रै कठिन र बुझ्न नसकिने अमूल्य रत्न प्राप्त गरेकाले सर्वसाधारणले बुक्ष्ने छैनन् भनी उपदेश गर्न इच्छा राख्नुभएको थिएन तर इन्द्र आदि देउताहरूले संसारको कल्याण गर्ने यस्तो अनमोल ज्ञान बाँड्नुहोस् भनी अनुरोध गरेपछि उहाँले पञ्चवर्गीय भिक्षुहरूलाई सारनाथमा प्रथम धर्मचक्र प्रवर्तन गर्नुभयो। यसरी नै ३५ बर्षको उमेरदेखि ८० बर्षको उमेरसम्म उहाँले विभिन्न ठाउँमा विभिन्न प्रकारका व्यक्तिहरूलाई प्रतीत्यसमुत्पादरूपी ज्ञानको उपदेश दिनुभयो। गौतम बुद्धको उपदेश त्यतिबेलाको समयमा नौलो थियो। त्यो समयमा हिन्दू दर्शनको ठूलो प्रभाव थियो। यज्ञ दैनिक रूपमा हुन्थ्यो। सयौँ जनावरहरूलाई यज्ञमा बलि दिइन्थ्यो। उहाँले प्राणीहिंसा र जातिपाती व्यवस्थाको विरोध गरी प्राणीहिंसा गरेर मुक्ति पाइन्छ भन्ने मूर्खता नगरौँ, प्रेम र करुणाले मात्रै मान्छेले ज्ञान तथा मोक्ष पाउँछ भनी उपदेश दिनुभयो। हामी मनुष्यले सबै प्राणीहरूमा प्रेम र करुणा राखे मात्रै संसार सुखी र शान्त हुन्छ भन्ने विचार राख्नुभयो।
समयक्रमसँगै गौतम बुद्धको मुख्य उपदेशमध्ये संसारमा कुनै पनि चिज स्थिर छैन, नित्य छैन, हरेक चिज हरक्षण परिवर्तन भइरहेको छ भन्ने सिद्धान्तलाई अपनाई उहाँकै सिद्धान्तको अनुसरण गर्ने चेलाहरूद्वारा कुन विचारलाई प्रमुख मान्ने भन्ने कुरामा विवाद भई विभिन्न सम्प्रदायहरूको जन्म हुनपुग्यो। यसरी बुद्धको परिनिर्वाण भएको सय वर्ष पुग्दानपुग्दै बौद्धदर्शन दुई भागमा स्थविरवाद र महायानमा विभक्त हुनगयो। समयक्रमसँगै यी वाद पनि ठाउँ पिच्छे र व्यक्ति पिच्छे नै अनगिन्ति सम्प्रदायमा विभक्त हुन गए। यसो हुनुमा अंगुत्तर निकायको कालाम सूत्रमा बुद्धले आफैँ दिनुभएको उपदेश नै प्रमुख कारण हो।
कुनै पनि कुरालाई सजिलै विश्वास नगर किनकि त्यो तिमीले सुनेको थियो भनेर, कुनै परम्पराहरूलाई पनि विश्वास नगर किनकि तिनीहरू पुस्तौं पुस्तादेखि प्रचलनमा आइरहेका छन् भनेर। कुनै पनि कुरा धेरै मानिसहरूद्वारा हल्ला गरिएको वा भनिएको हो भनेर पनि विश्वास नगर, कुनै पनि कुरालाई सहजै विश्वास नगर किनकि त्यो तिम्रो धार्मिक पुस्तकमा लेखिएको छ भनेर। तिम्रा गुरुहरू र अग्रजले भनेको हो भनेर पनि कुनै कुरामा विश्वास नगर तर तिमी आफैँले निरीक्षण र विश्लेषणपश्चात् कुनै पनि कुरा स्वीकार्छौ र तिमीलाई चित्तबुझ्दो पनि लाग्छ भने, साथै त्यो कुराले तिम्रो र अरू धेरैको पनि हित गर्छ भने मात्र विश्वास तथा स्वीकार गर र त्यसैको लागि आफ्नो जीवन समर्पित गर (अंगतुर निकाय भाग — १, १८८—१९३)।
हाल प्रचलनमा रहेका धेरै शाखा उपशाखा मुख्यतः महायानका दुई माध्यमिक (शून्यवादी) र योगाचार (विज्ञानवादी) र स्थविरवादका दुई वैभाषिक र सौत्रान्तिक सिद्धान्तसँग सम्बन्धित छन्। महायान मतका अनुसार यदि मेहेनत गरी ज्ञान आर्जन गर्दै गयो भने हामी सबैजना बुद्ध बन्न सक्दछौँ। महायानले हरेक व्यक्तिमा बोधिचित्त हुन्छ, सोही बोधिचित्त ध्यान, तपस्या र अभ्यासको बलले क्रमशः प्रज्ञावान् हुँदै गएपछि कोही पनि व्यक्ति बुद्ध बन्न सक्दछ भन्ने सिद्धान्त अपनाउँछ। हरेक महायानीहरूको अन्तिम उद्देश्य नै बुद्ध बन्न सक्नु हो। महायानीहरू निर्वाणमा रहिरहन चाहँदैनन्। निर्वाणभन्दा पनि माथि पुगेर बुद्ध बनी सम्पूर्ण दुखित प्राणीहरूलाई सहयोग गरेर उनीहरूको दुख कष्ट हटाई संसारमा सुख शान्ति ल्याउने कामना तथा कार्य गर्दछन्। त्यसैले उनीहरूको मुख्य कामना भनेकै “बुद्धो भवेयम् जगतो हिताय” हो। महायानले जो कोही व्यक्ति महायान धर्मको अनुसरण गर्दै सुरुमा प्रव्रजित भएर कुनै भिक्षु संघको सदस्य बनी सर्वप्रथम जगत्को हित गर्नका लागि बुद्ध बन्न सकौँ भन्ने कामना गर्दै सोही सिद्धान्त, दर्शन वा सम्प्रदायले विकसित गरेको ध्यान प्रक्रियाको अनुसरण गरी क्रमशः ध्यानका तहहरू पार गर्दै अगाडि बढ्दछ, त्यो व्यक्ति अन्तिम तहमा पुगेपछि बुद्ध बन्दछ भन्ने मान्यता राख्दछ। यो मान्यताको सबैभन्दा उत्कृष्ट प्रयोग वा उपयोग महायानअन्तर्गतको योगाचार(विज्ञानवाद) दर्शनमा अनुसरण हुँदै आएको छ।
योगाचारले संसारमा विज्ञान वा चेतना मात्रै सत्य छ, अरू सबै कुरा असत्य हुन् भन्दछ। हामीले यो कुरा ठिक हो र यो बेठिक हो भनी निर्क्यौल गर्ने तथा ज्ञान अज्ञान सबै चेतनाकै बलले प्राप्त गर्न सकेका छौँ भन्ने सिद्धान्तलाई अपनाउँछ। यस्तो तथ्य कसरी थाहा पाइन्छ त भन्दा कठिन ध्यान तपस्याको बलले मात्र प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्दछ। योगाचार दर्शनले सम्पूर्ण प्राणीहरूलाई बुद्ध बन्ने बाटो देखाउने क्रममा दशवटा ध्यानका तहहरूको व्याख्या गरेको छ। योगाचार दर्शनले चित्त(चेतना वा विज्ञान)लाई नै मुख्य मान्ने भएकोले चित्तका विभिन्न प्रकारहरू चित्तमा हुने परिवर्तनहरू र चित्तलाई बस गर्न गर्नुपर्ने यावत परिश्रमहरूको व्याख्या गर्दछ। यही चित्तलाई नै हामीले विभिन्न ध्यान विधिको अभ्यास गरी पहिलो चरण, दोस्रो चरण हुँदै दशौं चरणसम्म विकसित गरी आफ्ना सम्पूर्ण मानसिक विकारहरू वा अज्ञानताहरू नाशगरी हामी चित्त शुद्ध हुन सक्छौँ यो चित्त शुद्ध हुनु प्रज्ञावान् हुनु हो र यो नै बुद्धत्व प्राप्त गर्नु हो भन्ने मान्दछ, त्यसैले यो दर्शनलाई विज्ञानवाद पनि भनिन्छ। यसरी बुद्धत्व प्राप्त गरिसकेपछि सो व्यक्तिले सम्पूर्ण लोकमा रहेका अरबौँ प्राणीहरूको हित गर्न सक्दछ। त्यसैले यी विभिन्न ध्यानका चरणहरू अथवा तहहरू, ती ती तहमा प्राप्त हुने फाइदा बेफाइदा आदि सबैको व्याख्या गर्ने भएकाले र सो को अनुसरण योग वा अभ्यासका बलले मात्रै सम्भव हुने र बुद्धत्व लाभ हुने भएकाले यो दर्शनलाई योगाचार दर्शन भनेको हो। योगाचार दर्शनले ध्यानका दशवटा भूमि (तह,चरण,सीमा) को कल्पना गरेको छ र यो दर्शनमा लाग्ने सम्पूर्ण भिक्षुहरूले क्रमशः यी ध्यानका तहहरूको अथवा दशवटा भूमिहरूको अभ्यास गर्दै जानुपर्दछ। यी दशवटा भूमिहरूको प्रारम्भिक दर्शन हामी स्थविरवादकै ग्रन्थ मानिने महावस्तुमा पनि पाउन सक्दछौ तर त्यहाँ यिनै नाम नभएर सम्पत्ती भनी ध्यानका तहहरूको ब्याख्या गरिएको छ नाम भने केही फरक रहन गएको छ, पछि यसको उत्कृष्ट व्याख्या हामी योगाचार वा विज्ञानवादको एक आगम ग्रन्थको रूपमा विख्यात आर्यदशभूमिकसूत्रम् ग्रन्थमा पाउँछौ।
महायानका सर्वोत्कृष्ट सूत्र ग्रन्थहरू मध्ये दशभूमिकसूत्रम् पनि एक हो यो सूत्रानुसार शाक्यमुनि बुद्ध भन्दा अगाडिदेखि नै हजारौँ बुद्धहरू उत्पन्न हुनुभएको थियो र उहाँहरूले परापूर्व कालमै कल्पौ कल्प अघिदेखि नै बौद्ध संघमा यी सूत्र रत्नहरूको व्याख्या गर्नुभएको थियो। यसैक्रममा शाक्यमुनि बुद्धले पनि दशभूमिकसूत्रलाई गृधकुट पर्वतमा आफ्नो अनुभावको माध्यमद्वारा आफ्ना भिक्षुहरूलाई दशवटा भूमिका बारेमा व्याख्या गर्नुभएको थियो। महायानका विभिन्न ग्रन्थहरूमा तिनीहरूका संख्यामा मतभिन्नता पाइन्छ। काँही दश भूमिको उल्लेख छ, काँही एघार ओटा र काँही तेह्र ओटा र काँही सत्र ओटा। तर धेरैले दश ओटा भूमिलाई नै स्वीकारेको देखिन्छ। आचार्य असङ्गले त आफ्नो ग्रन्थ योगाचार भूमिशास्त्रमा सत्र वटा भूमिको सुन्दर व्याख्या गर्नुभएको छ। त्यसैगरी अष्टसाहस्रिका प्रज्ञापारमिता जसलाई नव सूत्र ग्रन्थहरूको पनि आत्मा मानिन्छ सो ग्रन्थमा दशवटा भूमिहरूकै व्याख्या गरिएको पाइनुले यहाँ योगाचार सिद्धान्तको अनुसरण गर्दै यी दशवटा भूमिहरूको अवस्थाका बारेमा एक अनुसन्धान गरिएको छ।
२. अनुसन्धानको समस्या र उद्देश्य
बौद्ध दर्शनमा विभिन्न सम्प्रदायका विभिन्न मतहरू रहेका छन्। त्यसमध्ये महायान मै पनि धेरै प्रकारका मतहरू छन्। भगवान् बुद्धले संसार दुःखै दुःखको सागर हो, यसबाट मुक्त हुनको लागि हामीले चारवटा आर्य सत्यको ज्ञान र आर्य अष्टाङ्गिक मार्गको अनुसरण गर्नुपर्दछ भन्नुभएको छ र उहाँले राग, द्वेष, लोभ, मोह आदि चित्तका सम्पूर्ण विकारहरूबाट मुक्त भई स्थिर चित्त हुनु नै निर्वाणको अवस्था हो भन्नुभएको छ। निर्वाणको अवस्था र त्यो भन्दा पनि माथिल्लो बुद्धत्वको अवस्थामा कसरी पुग्ने भनी विज्ञानवाद (योगाचार) सिद्धान्तले दशवटा भूमिको विकास गरेको छ। त्यसैले प्रस्तुत अनुसन्धानमा दशवटा भूमिहरूको अवस्थाको बारेमा अध्ययन अनुसन्धान र विश्लेषण गर्ने प्रक्रिया अवलम्वन गरिएको छ, त्यसका लागि देहाय बमोजिमका समस्याहरू रहेका छन् —
क) बौद्धदर्शनमा भूमिको प्रयोग कसरी गरिएको छ ?
ख) बौद्धदर्शनमा कति प्रकारका भूमिहरू छन् ?
ग) यी विभिन्न प्रकारका भूमिहरूमा साधकलाई के —कस्तो प्राप्ति हुन्छ ?
यिनै उल्लेखित समस्याहरूको समाधान गर्नु नै यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो।
३. अनुसन्धान विधि
बौद्धदर्शनमा भूमिको प्रयोगका सन्दर्भमा गरिएको यस अनुसन्धानमा गुणात्मक विधिको प्रयोग गरिएको छ। बौद्धदर्शनको मुख्य सम्प्रदाय महायान सम्प्रदाय अन्तर्गतको योगाचार(विज्ञानवाद) सम्प्रदायमा भूमिहरूको व्याख्या गरिएकोले त्यसैलाई नै सैद्धान्तिक परिचर्चाको मुख्य आधार मानिएको छ। त्यसका लागि पुस्तकालीय स्रोतबाट प्राथमिक र द्वितीयक सामग्रीहरू सङ्कलन गरी विश्लेषण पश्चात् निष्कर्ष प्रतिपादन गरिएको छ।
४.स्थविरवादमा भूमि
धम्मपद बौद्धदर्शनको संसार प्रसिद्ध ग्रन्थ हो जसलाई स्थविरवादी मतको सार ग्रन्थको रूपमा स्वीकारिन्छ। धम्मपद तथा अरू पनि कैयन् स्थविरवादी ग्रन्थहरूमा भगवान् बुद्धले ध्यानका चार तह वा भूमिको क्रमशः अभ्यास गर्दै गएपछि अन्तिम चौथो भूमिमा अर्हत अवस्था प्राप्तिपछि मनका सम्पूर्ण विकारहरूबाट मुक्त भई निर्वाण लाभ गर्न सकिन्छ भनी उपदेश दिनुभएको छ। विशुद्धि मग्गको एघारौँ परिच्छेदमा समाधिका भूमिहरू भनी उपचार, अप्पना, प्रथम, द्वितीय, तृतीय र चतुर्थ ध्यानका तहहरूको गहन व्याख्या गरिएको कुरा बलदेव उपाध्यायले उल्लेख गरेका छन् (बलदेव उपाध्याय, बौद्धदर्शन मीमांसा, पृ.सं.३०६—३०९)। स्थविरवादी मतमा निर्वाणलाई नै अन्तिम लक्ष्यको रूपमा स्वीकारिएको छ। धम्मपदको बीसौँ अध्याय मग्गवग्गको दशौँ श्लोकमा यस्तो उल्लेख छ योगाभ्यासबाट ज्ञान उत्पन्न हुन्छ, योगाभ्यास नगर्नाले ज्ञानको क्षय हुन्छ त्यसैले लाभ र हानीका यी दुई मार्गलाई जानेर बुद्धानुयायीले आफूलाई ज्ञान वृद्धिको मार्गमा लगाउनु पर्छ (धम्मपद, मग्गवग्ग — १०)। यहाँ योगाचार मतकै भूमिको अभ्यासको व्याख्या गरिएको हो। त्यसैगरी बुद्धवग्गको सातौँ श्लोकमा पनि भूमिको प्रष्ट उल्लेख गरिएको पाइन्छ।
कसैको पनि निन्दा नगर्नु, कसैको पनि हिंसा नगर्नु, शीलपारमिता प्राप्त हुने खालका आचरणहरूको पालना गर्नु, आहारका मात्राको ज्ञान हुनु, एकान्त वासलाई अधिक मन पराउनु, चित्त शुद्धिका लागि दश भूमिका सोपानहरूको अभ्यास गर्नु नै बुद्धको परम शिक्षा हो र यसैबाट बुद्धत्वको श्रेणीमा पुग्न सकिन्छ (धम्मपद, बुद्धवग्ग — ७)।
लेख्य प्रमाणलाई मान्ने हो भने स्थविरवादको प्राचीन ग्रन्थहरू मध्ये महावस्तु ग्रन्थ इशापूर्व तेश्रो शताब्दीमा लेखिएको मानिन्छ। जसमा महायानका धेरै सिद्धान्तहरूको उल्लेख पाइन्छ। त्यसै ग्रन्थमा भूमिसम्बन्धी व्याख्या पनि गरिएको छ र यो ग्रन्थमा पनि दश ओटा ध्यानका तहहरूको अथवा भूमिहरूको व्याख्या गरिएको छ। यस ग्रन्थमा प्रष्टरूपमा भूमि शब्दको प्रयोग भएको पाइन्छ तर दशभूमिका नाममा भने फरक पाइन्छ। जुन यसप्रकार छन् — १) दुरारोह २) बद्धमना ३) पुष्पमण्डिता ४) रुचिरा ५) चित्तविस्तार ६) रूपवती ७) दुर्जया ८) जन्मनिदेश ९) यौवराज १०) अभिषेक (आचार्य नरेन्द्रदेव, बौद्ध धर्म—दर्शन, पृ.सं. १३०)। सुरुका आठ वटा तहहरू अभ्यासको तह र अन्तिमका दुईलाई फलका रूपमा प्रस्तुत गरिएको छ। त्यसैगरी क्रमशः प्रथम, द्वितीय, तृतीय आदि तहहरूमा कुशल मूल आदिहरूको अभ्यास गर्दै आफै ध्यान भावना बढाउँदै लगे सातौँ तहमा घरबार सबै त्याग गरी ध्यानको उच्चतम तहमा पुगी दशौँ भूमिमा तुषित भुवनमा प्रवेश गर्ने कुरा उल्लेख गरिएको छ।
५.आचार्य असङ्गको योगाचार भूमिशास्त्रमा भूमि
ईसाको तेस्रो शताब्दीका महान् विज्ञानवादी आचार्य असङ्गको विशालकाय ग्रन्थ योगाचार भूमिशास्त्रमा सत्र ओटा भूमिहरूको व्याख्या गरिएको छ। यस ग्रन्थमा ध्यान (चित्त) को योग (अभ्यास) का सत्र ओटा तहहरू र ती तहमा आइपर्ने व्यवधानहरू र प्राप्त हुने मानसिक अवस्थाहरूको विशद व्याख्या गएिकोले नै विज्ञानवाद योगाचार नामले पनि प्रसिद्ध हुनपुग्यो। यसमा वर्णन गरिएका सत्र भूमिहरू यसप्रकार छन् — १) विज्ञान भूमि २) मन भूमि ३) सवितर्क—सविचारा भूमि ४) अवितर्क—विचारमात्रा भूमि ५) अवितर्क—अविचारा भूमि ६) समाहिता भूमि ७) असमाहिता भूमि ८) चित्तका भूमि ९) अचित्तका भूमि १०) श्रुतमयी भूमि ११) चिन्तामयी भूमि १२) भावनामयी भूमि १३) श्रावक भूमि १४) प्रत्येकबुद्ध भूमि १५) बोधिसत्व भूमि १६) सोपाधिका भूमि १७) निरूपाधिका भूमि। यस ग्रन्थमा असङ्गले ध्यान वा चित्तको अवस्थालाई भूमि मानी प्रारम्भमा ध्यानको परिचय, त्यसका अंगहरूको वर्णन गरी क्रमशः ध्यान गर्दे जाँदा लाभ हुने ध्यानावस्था वा ध्यानफलहरूको सांगोपांग व्याख्या गर्नु भएको छ (राहुल सांकृत्यायन, दर्शन दिग्दर्शन, पृ.स. ५१४—५२६)। यस योगाचार भूमिशास्त्र ग्रन्थमा दशभूमिका स्थानमा सत्र ओटा भूमिको प्रयोग कुन अर्थमा गरिएको छ भन्ने सम्बन्धमा प्रस्तुत अनुसन्धानात्मक लेखको निष्कर्षमा विश्लेषण गरिनेछ।
६. अष्टसाहस्रिका प्रज्ञापारमितामा भूमि
महायान दर्शनको प्रादुर्भाव नौ ओटा सूत्रग्रन्थबाट भएको हो भनी मानिन्छ। ती यसप्रकार छन् — १) प्रज्ञापारमितासूत्रम् २) समाधिराजसूत्रम् ३) ललितविस्तर ४) सद्धर्मलङ्कावतारसूत्रम् ५) सुवर्ण प्रभाससूत्रम् ६) गण्डव्यूहसूत्रम् ७) आर्यसद्धर्मपुण्डरीकसूत्रम् ८) आर्यश्रीदशभूमिकसूत्रम् ९) तथागतगुह्यकसूत्रम्। आचार्य बलदेव उपाध्यायले भने उनको पुस्तक बौद्धदर्शन मीमांसामा ललितविस्तर र तथागतगुह्यकसूत्रम् का स्थानमा रत्नकूट र सुखावती व्यूहलाई वैपुल्य सूत्रको रूपमा उल्लेख गरेका छन्। आचार्य नरेन्द्रदेवले भने ललितविस्तर र तथागतगुह्यकसूत्रम् लाई नै वैपुल्यसूत्र भनी लेखेका छन्। यी नौ सूत्र ग्रन्थहरू १) प्रज्ञापारमितासूत्रम् २) समाधिराजसूत्रम् ३) ललितविस्तर ४) सद्धर्मलङ्कावतारसूत्रम् ५) सुवर्ण प्रभाससूत्रम् ६) गण्डव्यूहसूत्रम् ७) आर्यसद्धर्मपुण्डरीकसूत्रम् ८) आर्यश्रीदशभूमिकसूत्रम् ९) तथागतगुह्यकसूत्रम् लाई महायानानुयायीहरूले नव रत्नको रूपमा लिई अत्यन्तै श्रद्धा भक्तिपूर्वक नित्य पूजाआजा गर्ने गर्दछन्। जुन परम्परा काठमाडौँ उपत्यकामा हाल पनि देख्न पाइन्छ। यी नव ग्रन्थहरूको प्रवर्तन कनकमुनि आदि पहिलेका बुद्धहरूद्वारा अनादि कालदेखि नै हुँदै आएको विश्वास गरिन्छ। यी नवसूत्रहरूको भगवान् बुद्धले आफ्नो अनुभावको माध्यमबाट गृधकूट पर्वतमा दोश्रो धर्मचक्र प्रवर्तनको समयमा हजारौँ भिक्षुहरू, बोधिसत्वहरू, देवताहरू, राजाहरू, उपासक र उपासिकाहरूको सामु उपदेश दिनुभएको थियो।
प्रज्ञापारमितालाई नवरत्नहरू मध्ये पनि मुख्य मानिन्छ। प्रज्ञापारमिताका ग्रन्थहरू एकाक्षरी, स्वल्पाक्षरी, सप्त श्लोकी, नव श्लोकी, चौध श्लोकी, एकाइसौँ श्लोकी, पचासौँ श्लोकी, एक सय पचास श्लोकी, तीन सय श्लोकी, पाँच सय श्लोकी, सात सय श्लोकी, आठ सय श्लोकी, पचीस सय श्लोकी, आठ हजार श्लोकी, दश हजार श्लोकी, अठार हजार श्लोकी, पचीस हजार श्लोकी, एक लाख श्लोकी को रूपमा विद्यमान छन्। तिनीहरू मध्ये पनि शतसाहस्रिका प्रज्ञापारमिता (एक लाख श्लोकी), पंचविंशतिसाहस्रिका प्रज्ञापारमिता (पचीस हजार श्लोकी), अष्टसाहस्रिका प्रज्ञापारमिता (अठार हजार श्लोकी) लाई क्रमशः विस्तृत, मध्यम र सङ्क्षिप्त प्रज्ञापारमिता (जिनजननी) भनिन्छ। नेपाली भाषामा रूपान्तर गरिएको अष्टसाहस्रिका प्रज्ञापारमिता सूत्रमा बुद्धत्व प्राप्तिका लागि दशभूमिहरूको अभ्यास गर्नुपर्ने उल्लेख गरिएको छ। (आर्य अष्टसाहस्रिका प्रज्ञापारमिता विहरति स्म, पृ.सं. १६२)। पारमितासूत्रमा विहार शब्दको प्रयोग भूमिको पर्यायवाची शब्दको रूपमा गरिएको छ। त्यसैगरी दशभूमि बाहेक श्रावक भूमि, प्रत्येकबुद्ध भूमि, बोधिसत्वभूमि, महासत्वभूमि, बुद्धभूमि, सम्यक्संबुद्धभूमि र अविनिवर्तनीयभूमिहरूको पनि उल्लेख गरिएको छ।
७.सद्धर्मलङ्कावतारसूत्रमा भूमि
सद्धर्मलङ्कावतारसूत्रम् योगाचार वा विज्ञानवादको महत्वपूर्ण सूत्र ग्रन्थ हो। सद्धर्मलङ्कावतारसूत्रमा चित्त (मन वा विज्ञान)को मात्रै परमार्थ अस्तित्व स्वीकारी अरू सबै वस्तुहरूको अस्तित्व छैन भनी लेखिएको छ। दशभूमिको क्रमिक साधनाद्वारा चित्तमात्रताको ज्ञान प्राप्त गर्ने साधकले मात्रै बुद्धत्व लाभ गर्दछ भन्ने कुरा उल्लेख गरिएको छ। (आर्यसद्धर्मलकावतारसूत्रमं, डा.काशीनाथ न्यौपाने (अ.) पृ. सं. ३३ र २६३)। यसैगरी विभिन्न प्रसङ्गमा दशभूमि बाहेक बुद्धभूमि, तथागतस्वप्रत्यात्मभूमि, तथागतगतिभूमि, भूमिका विपक्षीहरू, चर्याभूमि, तथागतभूमि, चित्तका सातभूमि, सूतभूमि, तर्कभूमि, परिकर्मभूमि, निराभाषभूमि, बुद्धसुतभूमि, बोधिसत्वभूमि, परमार्थ तत्त्वभूमि, धर्मनैरात्म्यभूमि, विशेषभूमि, श्रावकध्यानभूमि, तथागतप्रत्यात्मभूमि, सर्वभूमि, अभूमि, सर्वधर्मभूमि, अविद्यावासनाभूमि, चतुर्वासनाभूमि, प्रत्यात्मशुद्धभूमि आदिको पनि वर्णन गरिएको छ।
८. गण्डव्यूहसूत्रमा भूमि
यो सूत्र ग्रन्थमा महायानमा नलागेका कुलपुत्र वा कुलपुत्रीहरूले दशवटा नियमको पालना गरेमा तथागत भूमिमै प्रवेश गर्न सक्दछन्, बोधिसत्वभूमिमा त सजिलैसँग प्रवेश पाइन्छ भन्ने उल्लेख गरिएको छ। (पं. दिव्यवज्रवज्राचार्य, नव सूत्र संग्रह, पृ. सं. ९६)। त्यसैगरी पारमिता ज्ञान धारणी समाधिलाई नै भूमिको रूपमा व्याख्या गरिएको छ।
९. महायानसूत्रालङ्कारमा भूमि
आचार्य असङ्गले आफ्नो गुरु मैत्रेयनाथको ग्रन्थ महायानसूत्रालङ्कारको बीसौँ र एक्काइसौँ चर्याप्रतिष्ठा अधिकार(अध्याय) को भाष्यमा भने यीनै सत्र ओटा भूमिहरूलाई सारांशमा एघार ओटा भूमिमा समेट्नु भएको छ। ती यसप्रकार छन् — १) अधिमुक्तिचर्या भूमि २) मुदिता भूमि ३) विमला भूमि ४) प्रभाकरी भूमि ५) अर्चिष्मती भूमि ६) दूर्जया भूमि ७) अभिमुखी भूमि ८) दूरंगमा भूमि ९) अचला भूमि १०) साधुमती भूमि ११) बुद्ध भूमि। यसको श्रेय मैत्रेयनाथलाई दिनु नै न्यायोचित ठहर्दछ किनकी मूल ग्रन्थ मैत्रेयनाथकै रचना हो। आचार्य असङ्गले महायानसूत्रालङ्काको चौधौँ अववादानुशासन्यधिकारको उन्नाइसौँ श्लोकमा ध्यानका भूमिहरूको व्याख्या प्रसङ्गमा शुद्ध्याशय भूमिको पनि उल्लेख गर्नु भएको छ (स्वामी द्वारिकादासशास्त्री (सं.), महायानसूत्रालङ्कार, पृ.सं.८९)। यस ग्रन्थमा भूमिवाचक अन्य विभिन्न भूमि शब्दहरूको प्रयोग दशभूमिकै परिपुष्टिका लागि भएको देखिन्छ।
१०. दशभूमिकसूत्रमा भूमि
सबै महायानी देशहरूमा नव सूत्रहरूको अध्ययन, पूजन गर्ने चलन छ। यो ग्रन्थ नामानुसार नै दश भूमिका दश अध्याय वा परिवर्त र अन्तिम एक परिन्दना (प्रशंसा) परिवर्तमा विभक्त छ। यी दश भूमिका नाम यसप्रकार छन् —१) प्रमुदिता भूमि २) विमला भूमि ३) प्रभाकरी भूमि ४) अर्चिष्मती भूमि ५) सुदुर्जया भूमि ६) अभिमुखी भूमि ७) दूरंगमा भूमि ८) अचला भूमि ९) साधुमती भूमि १०) धर्ममेघा भूमि। दश भूमिहरू दश पारमितासँग सम्बन्धित छन्। यसको देशना भगवान् बुद्धले बोधिलाभ प्राप्त गरेको दुई साता पछि परनिर्मितवशवर्ति देवलोकमा धेरै बोधिसत्त्वको समक्ष अनुभावको माध्यमबाट गर्नु भएको थियो।
सातौँ भूमिसम्म विभिन्न शीलका अभ्यासहरू गर्ने र आठौं भूमिमा भने प्रज्ञाको अभ्यास गरिने कुरा उल्लेख गरिएको छ। सातौँ भूमि सम्मको अभ्यास अर्हत्व लाभ गर्न गरिनु पर्ने, श्रावकयानीहरू यहीँबाट रोकिने तर महायानीहरू सम्पूर्ण जगत्को कल्याणार्थ निर्वाणको सुखलाई पनि त्यागेर अरू माथिल्ला भूमिहरूको पनि अभ्यास गरी बुद्धत्व लाभ गर्ने कुरा पनि उल्लेख गरिएको छ। (आर्य दशभूमिकसूत्रम्, प.दिव्यवज्र वज्राचार्य (सं.) पृ.सं. १६१)। यस ग्रन्थमा पनि दशभूमि बाहेक बालपृथग्जनभूमि, सर्वज्ञभूमि, श्रावकभूमि, प्रत्येकबुद्धभूमि शब्दहरूको पनि प्रयोग गरिएको छ। प्रत्येक भूमि एक—एक ओटा पारमितासँग सम्बन्धित छन्। यी भूमिहरूको संक्षिप्त परिचय यसप्रकार रहेको छ।
११. प्रमुदिता भूमि
मुदिताको अर्थ प्रसन्नता हो। बोधिचित्त उत्पन्न गरी बोधिकुलमा प्रवेश पछि महाकारुण्यको भाव उत्पन्न हुन्छ। यस भूमिमा दश महाप्रणिधानका भावहरू १) श्रद्धा २) दया ३) मैत्री ४) दान ५) शास्त्रज्ञान ६) लोकज्ञान ७) विनम्रता ८) दृढता ९) सहनशीलता र १०) संबोधी लाभ भई मन प्रसन्न हुन्छ। यस भूमिमा दान पारमिताको अभ्यास गरिन्छ।
१२. विमला भूमि
यो विमला भूमिमा अवस्थित साधकले शील पारमिताको अभ्यास गरी कायिक तीन दोषहरू १) प्राणतिपात २) अदत्तादान ३) व्यभिचार, वाचिक चार दोषहरू ४) मृषावचन ५) पिशुनवचन ६) परुषवचन ७) संप्रलाप र मानसिक तीन दोषहरू ८) लोभ ९) प्रतिहिंसा १०) मिथ्यादष्टिलाई नाश गरी चित्त विमल बनाउँदछ।
१३. प्रभाकरी भूमि
प्रभाकरी भूमि साधना, ध्यान वा ज्ञानको तेश्रो चरण हो। यसमा अनित्यताको साक्षात्कार हुन्छ। यसको प्राप्तिको लागि क्षान्ति पारमिताको अभ्यास गरिन्छ।
१४. अर्चिष्मति भूमि
अर्चिष्मति भूमिमा आर्य अष्टांगिक मार्गको साधना गर्न वीर्य पारमिताको अभ्यास गरिन्छ। साधकमा अग्नितुल्य शक्ति उत्पन्न भई विघ्न बाधाहरू जलेर नाश हुन्छन्। जसबाट सम्पूर्ण प्राणीहरूमा मैत्रीभाव उत्पन्न हुन्छ।
१५. सुदुर्जया भूमि
सुदुर्जया भूमिमा महाकरुणा उत्पन्न गर्नलाई साधकले सम्पूर्ण प्राणीहरूको बोलीवचन बुझ्न सक्ने हुन्छ। यसमा ध्यान पारमिताको अभ्यास गरिन्छ।
१६. अभिमुखी भूमि
अभिमुखी भूमिमा दश प्रकारका मनोवृतिहरू १) अनुभूति २) संज्ञा ३) अचेतना ४) छन्द ५) स्पर्श ६) प्रज्ञा ७) स्मृति ८) मनसिकार ९) अधिमोक्ष १०) समाधिको आत्मसाथद्वारा चित्त परिशुद्ध भई शून्यता ज्ञानको लाभ हुन्छ। यसमा प्रज्ञा पारमिताको अभ्यास गरिन्छ।
१७. दूरंगमा भूमि
दूरंगमा भूमिमा साधकले उपाय कौशल्य पारमिताको अभ्यासद्वारा दश किसिमका ज्ञान १) श्रद्धा २) अप्रमाद ३) प्रश्रब्धि ४) तितिक्षा ५) ह्री ६) अपत्रपा ७) अलोभ ८) अद्वेष ९) अहिंसा १०) वीर्य को आर्जन गर्दछ।
१८. अचला भूमि
अचला भूमिमा साधकले प्रणिधान पारमिताको अभ्यासद्वारा जगत्का सम्पूर्ण प्रपञ्चहरू अनित्य हुन् भन्ने ज्ञान लाभ गर्दछ। ऊ मन वचन र शरीरका कुनैपनि प्रकारको आनन्दबाट प्रभावित हुँदैन।
१९. साधुमती भूमि
साधुमती भूमिमा प्रवेश गरेको साधक सम्पूर्ण प्राणीहरूको उद्धार गर्न बल पारमिताको अभ्यास गर्दछ। उसलाई चार प्रकारका विशेष ज्ञान १) शब्दका अर्थहरूको पर्यालोचन २) धर्म विवेचन क्षमता ३) वस्तु र अवस्तु विवेचन गर्ने क्षमता ४) विश्लेषित परीक्षित ज्ञान लागू गर्ने क्षमता प्राप्त हुन्छ।
२०. धर्ममेघा भूमि
धर्ममेघा भूमिलाई अभिषेक पनि भनिन्छ। यो भूमिको साधकले ज्ञान पारमिताको अभ्यास गरी सम्पूर्ण समाधिहरू लाभ गरी बुद्धत्वको अवस्था लाभ गर्दछ। यो नै ध्यान, ज्ञान, साधना वा अभ्यासको चरम तह वा भूमि हो।
२१.निष्कर्ष
बौद्धदर्शन संसार प्रसिद्ध हुनुमा यसको व्यवस्थित साधनाको माध्यमले हाम्रा सम्पूर्ण शारीरिक, वाचिक र मानसिक विकारहरूलाई समूल नाश गरी चित्तलाई विशुद्ध बनाउने उपायको सार्थक प्रयोग पाइनाले नै हो। बौद्ध साधना वा ध्यान पद्दति वैज्ञानिक र सुव्यवस्थित छ। बौद्ध धर्मानुयायीहरूले संसारभरि नै यो विज्ञानको उपयोग गरी आफ्नो र जगत्कै कल्याण गर्न सफल भएका छन्। महायानीहरूको चुडान्त लक्ष्य आफूले बुद्धत्व लाभ गरी सबै लोकका सम्पूर्ण प्राणीहरूको दुःखबाट उद्दार गरी संसारमा शान्ति कायम गरौँ भन्ने हुन्छ। त्यसैले महायानी साधकको पहिलो प्रतिज्ञा नै “बुद्धो भवेयम् जगतो हिताय” हुने गर्दछ। सम्पूर्ण लोकको हित गर्न मन, वचन र शरीर शुद्ध भई महामैत्री र महाकरणा चित्त उदय हुनु पर्दछ। योगाचार वा विज्ञानवाद दर्शनमा वर्णन गरिएको दश ओटा ज्ञान वा ध्यानका तहहरू वा भूमिहरूको सम्यक् प्रकारले अभ्यास गरे मात्रै प्रज्ञा उदय भई जो कोही साधक पनि बुद्ध बन्न सक्दछ।
भूमिका धेरै अर्थहरू मध्ये एउटा अर्थ आधार पनि हो। योगाचार वा विज्ञानवाद दर्शनमा वर्णन गरिने दश ओटा भूमिहरू पनि ध्यान, ज्ञान वा अभ्यासको भऱ्याङको सिँढी जस्तै आधारहरू हुन्। एउटा भूमि लाभ नगरी माथिल्लो भूमिमा प्रवेश गर्नै सकिन्न न त तलका भूमिको आधार विनै फुत्तै दशौँ भूमिमा पुग्न वा भूमिलाभ गर्न सकिन्छ। महायानानुयायी देशहरूमा प्राचीन कालदेखि हालसम्म पनि भिक्षु, भिक्षुणी, उपासक र उपासिकहरूले यिनै माथि वर्णित दश ओटा भूमिहरूको क्रमिक साधना गर्ने गर्दछन्।
विभिन्न ग्रन्थहरूमा भूमिको सङ्ख्यामा विभिन्नता पाइए पनि यी १) प्रमुदिता भूमि २) विमला भूमि ३) प्रभाकरी भूमि ४) अर्चिष्मती भूमि ५) सुदुर्जया भूमि ६) अभिमुखी भूमि ७) दूरङ्गमा भूमि ८) अचला भूमि ९) साधुमती भूमि १०) धर्ममेघा दश ओटा बाहेक जति पनि भूमिहरूको वर्णन पाइन्छ ती सबै यिनै दश ओटा भूमिमा प्राप्त हुने ज्ञान लाभका पर्यायवाची अर्थमा प्रयोग भएका छन्। जस्तै निराभाषभूमि भन्नु अचला भूमिको अवस्था हो। त्यसैगरी अविनिवर्तनीयभूमि भन्नु, बुद्धभूमि र धर्ममेघा भूमि भन्नु पनि एकै हो। केही भूमि शब्दहरू भने यी भूमिहरूको अभ्यास नै नगरेको ज्ञानको तल्लो अवस्थाको अर्थमा प्रयोग गरिएका छन् जस्तै बालपृथकजनभूमि बौद्धदर्शनको ज्ञान नभएका सर्वसाधारण व्यक्तिहरूको अज्ञानावस्था, श्रावकभूमि भनेको श्रावकयानानुयायीहरूको ज्ञानावस्था र प्रत्येक बुद्धभूमि भनेको प्रत्येक बुद्धयानानुयायीहरूको ज्ञानावस्था। त्यसैले यी प्रमुदिता भूमि, विमला भूमि, प्रभाकरी भूमि, अर्चिष्मती भूमि, सुदुर्जया भूमि, अभिमुखी भूमि, दूरंगमा भूमि, अचला भूमि, साधुमती भूमि, धर्ममेघा दश ओटा भूमि नै सर्वज्ञज्ञान प्राप्ति र बुद्धत्व प्राप्तिका आधारहरू हुन् भन्ने निष्कर्ष निक्लिन्छ।
सन्दर्भ सामग्री सूची
आर्य अष्टसाहस्रिका प्रज्ञापारमिता विहरति स्म, (२०७७), (सम्पा. टीका शेर्पा, खेन्पो ञ्यिमा सिंह, आचार्य नुर्बु शेर्पा र अरू), काठमाण्डौँ : बुद्धवचन अनुवाद समिति नेपाल।
आर्यसद्धर्मलङ्कावतारसूत्रम्, (२०६८), (अनु. डा. काशीनाथ न्यौपाने), काठमाण्डौँ : जयतु संस्कृतम्।
आर्यश्रीदशभूमिकसूत्रम्, (२०५९), (अनु. पण्डित दिव्यवज्र वज्राचार्य), ललितपुर : लोटस रिसर्च सेन्टर।
उपाध्याय, आचार्य बलदेव (सन् २०१४), बौद्ध—दर्शन—मीमांसा, वाराणसी : चौखम्बा विद्याभवन।
धम्मपद, (सन् २००५), (सम्पा. श्रीसत्कारिशर्मा वङ्गीय), वाराणसी : चौखम्बा विद्याभवन।
मैत्रेयनाथ (सन् २००६), महायानसूत्रालङ्कारः, (सम्पा. स्वामी द्वारिकादासशास्त्री), वाराणसी : बौद्धभारती।
राहुल साङ्कृत्यायन (२०७३), दर्शनदिग्दर्शन, (अनु. नारायणप्रसाद आचार्य), काठमाण्डौँ : अक्षरदीप प्रकाशन।
वज्राचार्य, पण्डित दिव्यवज्र (२०५६), नव सूत्र संग्रह, (दो.सं), ललितपुर : बोधि प्रकाशन केन्द्र।
scdd.sfo2.cdn.digitaloceanspaces.com/uploads/original/3X/f/8/f89c3309681d42493b9bf575c/ agguttar nikay summary