वर्तमान समयमा संसारभरि चलनचल्तीमा रहेका भाषाहरूको ऐतिहासिक सिंहावलोकन गर्दा बीसौँ शताब्दीको मध्यसम्म अङ्ग्रेजी बाहेक अन्य भाषाहरूमा हुने गरेका अध्ययन, अध्यापन तथा शिक्षामूलक प्रकाशनहरू सामान्य रूपमा लिने गरिन्थ्यो। दोस्रो विश्वयुद्ध पछिको समय अवधिमा भने यसमा परिवर्तन आएको छ। खास गरी अमेरिका तथा बेलायतका विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय जगतमा बढ्दो वर्चस्वको फलस्वरूप अङ्ग्रेजी भाषा सर्वसाधारणहरूका लागि आफ्नो विज्ञता देखाउने […]
वर्तमान समयमा संसारभरि चलनचल्तीमा रहेका भाषाहरूको ऐतिहासिक सिंहावलोकन गर्दा बीसौँ शताब्दीको मध्यसम्म अङ्ग्रेजी बाहेक अन्य भाषाहरूमा हुने गरेका अध्ययन, अध्यापन तथा शिक्षामूलक प्रकाशनहरू सामान्य रूपमा लिने गरिन्थ्यो। दोस्रो विश्वयुद्ध पछिको समय अवधिमा भने यसमा परिवर्तन आएको छ। खास गरी अमेरिका तथा बेलायतका विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय जगतमा बढ्दो वर्चस्वको फलस्वरूप अङ्ग्रेजी भाषा सर्वसाधारणहरूका लागि आफ्नो विज्ञता देखाउने प्रमुख माध्यम बन्न पुगेको छ। यसले गर्दा नेपाल जस्तो विकासशील राष्ट्रमा पनि अङ्ग्रेजी भाषा प्रतिको मोह नजानिँदो पाराले बढ्न गएको हो। वैज्ञानिक सञ्चारका लागि साझा माध्यमका रूपमा अङ्ग्रेजी भाषाको अन्तर्राष्ट्रिय वर्चस्व स्वीकार्य भए पनि अन्य भाषाको तुलनामा अङ्ग्रेजी भाषाको यो परिस्थिति अपरिहार्य चाहिँ होइन। किनभने कुनै समयमा ग्रीक अथवा ल्याटिन भाषाहरूलाई समेत अन्तर्राष्ट्रिय भाषाका रूपमा मान्यता प्राप्त थियो तर ती भाषाहरू हिजोआज लुप्तप्राय अवस्थामा रहेका छन्।
भाषाकै कारणले नेपालजस्ता विकासशील राष्ट्रका विद्वान्हरू दोहोरो मारमा परेका छन्। एकातिर आफ्ना भावनाहरू आफ्नै मौलिक भाषामा नभई अङ्ग्रेजी भाषामा व्यक्त गर्नु पर्ने हुँदा अङ्ग्रेजी भाषा सिक्नै पर्ने बाध्यता छ भने अर्को तर्फ स्थानीय भाषामा प्रकाशित लेख, रचना, कृतिहरूमा अन्तर्राष्ट्रिय पाठकहरूको पहुँच सीमित छ। यस सन्दर्भमा ‘लोकदर्पण’ले नेपाली विद्वान्हरूद्वारा लेखिएका अनुसन्धानमूलक लेख, रचना, कृतिहरू अन्तर्राष्ट्रिय जगत्मा छरिएर रहेका नेपाली पाठकहरू समक्ष पुऱ्याउने लक्ष्यका साथ आफ्नो अभियान सुरु गरेको छ।
लोकदर्पण पत्रिकाको सम्पादनका क्रममा निम्न दुई समस्याहरू देखिएकाले यस तर्फ हाम्रा आदरणीय पाठकवृन्दको ध्यानाकर्षण गराउन चाहन्छौँ। पहिलो समस्या – वर्णविन्यासको शिष्ट परम्परा बिग्रिएकाले नेपाली भाषा लेखनमा एकरूपताको अभाव देखिएको छ। दोस्रो समस्या – सामान्यत अनुसन्धानमूलक लेख रचनाहरूले ए.पि.ए. अथवा एम.एल.ए. अथवा सिकागो म्यानुअल स्टायल अनुशरण गर्नु पर्ने नीति छ तर यी तिनैवटा स्टायलहरू नेपाली अनुसन्धान मूलक लेखहरूमा हुबहु लागू हुन सक्दैनन्। तसर्थ नेपाली सिर्जनाहरूको मौलिकता कायम राख्नमा सहयोग पुऱ्याउने हेतुले नेपाली पब्लिकेसन म्यानुअल विकास गर्नु पर्ने आवश्यकता हामीले महसुस गरेका छौँ। यसका लागि त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता राष्ट्रिय स्तरमा प्रतिष्ठित संस्थाहरूसँग समन्वय राखी आगामी दिनहरूमा पं. श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठानले पहल गर्ने जानकारीका साथ हामीले लोकदर्पणको तेस्रो अङ्क यहाँहरू सामु प्रस्तुत गरेका छौँ।
सम्पादक मण्डल