Posted by: admin

पण्डित श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठानद्वारा विद्वत्सम्मान तथा दुईओटा ग्रन्थ लोकार्पण समारोह सम्पन्न

पण्डित श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठान, धरानले यही २०८० श्रावण ३२ गते शुक्रबार विद्वत्सम्मान तथा ग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । धरानको गीता भवनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व-शिक्षाध्यक्ष, पौरस्त्य वाङ्मयका साधक, ९६ वर्षीय पण्डित श्री पुरूषोत्तम भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रा. नारायणप्रसाद शर्मा कट्टेल, विशिष्ट अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने, पं. लोकनाथ लुइटेलकी धर्मपत्नी श्रीमती राधादेवी लुइटेल, लोकनाथ गुरुका ज्येष्ठ सुपुत्र डा. हरिशरण लुइटेल लगायत अन्य अतिथिहरूले पं. पुरूषोत्तम भट्टराई गुरूलाई टोपी, अबीर, टीका, माला लगाई, दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । उक्त अवसरमा उहाँलार्इ सम्मान पत्रसमेत प्रदान गरिएको थियो भने उक्त सम्मानपत्र यस प्रतिष्ठानका संस्थापक डा. हरिशरण लुइटेलले वाचन गर्नुभएको थियो ।

यसैगरी उक्त प्रतिष्ठानद्वारा प्रकाशित दुई कृतिहरूको पनि प्रमुख अतिथि, सम्मानित व्यक्तित्व, विशिष्ट अतिथि र अन्य अतिथिहरूद्वारा लोकार्पण गरिएको थियो ।

डा. हरिशरण लुइटेल र Gerry J. Mahar द्वारा संयुक्त रूपमा लिखित अर्थशास्त्र सम्बन्धी पुस्तक “Why Most Published Results on Unit Root and Cointegration Are False” र सहप्रा. डा. यज्ञेश्वर निरौला, प्रा.डा. सागरमणि सुवेदी, सहप्रा. डा. अमृतकुमार श्रेष्ठ, सहप्रा. डा. हरिशरण लुइटेल र उप–प्रा. भवानीप्रसाद मिश्रद्वारा संयुक्त रूपमा लिखित अनुसन्धान सम्बन्धी पुस्तक “अनुसन्धानको रूप र शैली” गरी दुई पुस्तकहरू लोकार्पित भएका थिए ।

“Why Most Published Results on Unit Root and Cointegration Are False” पुस्तकमाथि पिण्डेश्वर विद्यापीठका अर्थशास्त्रका उप-प्राध्यापक डा. कृष्णगोपाल अधिकारीले तथा “अनुसन्धानको रूप र शैली” पुस्तकमाथि पिण्डेश्वर विद्यापीठका प्रा. डा. रमेश घिमिरे र प्रा.डा. टङ्कप्रसाद न्यौपानेले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । अनुसन्धानको रूप र शैली पुस्तकको समीक्षा गर्ने क्रममा दुवै जना समीक्षकहरूले आजसम्म विश्वविद्यालयहरूद्वारा पनि मूर्त रूपमा हुन नसकेको यस कार्यलार्इ अत्यन्त सकारात्मक भन्दै प्रशंसा गर्नुभएको थियो भने केही परिष्कार गर्नुपर्ने, थप्नुपर्ने पक्षहरूलार्इ पनि औँल्याइदिनुभएको थियो ।

वर्तमानमा चलिरहेका अनुसन्धानमूलक लेखनशैलीहरूमा मुख्य अमेरिकन साइकोलोजिकल एसोसिएसन (APA), मोडर्न ल्याङ्ग्वेज एसोसिएन (MLA) र युनिभर्सिटी अफ सिकागो गरी तीन पद्धतिहरू छन् । नेपाली, संस्कृत आदि भाषाहरूमा गरिने अनुसन्धानका लागि पनि माथि भनिएका एपिए आदि शैली नै प्रयोग गर्नुपर्ने बाध्यता जीवित छ, तर  यी तीनैओटा लेखन शैलीहरू नेपाली, संस्कृत आदि भाषामा गरिने अनुसन्धानका लागि पूर्ण रूपमा लागु हुन सक्दैनन् ।

विश्वका विभिन्न देशका आआफ्ना विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूले आ–आफ्नै ढाँचाका लेखन शैलीको विकास गरी अनुसन्धान गरिरहेका छन् तर नेपालमा नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोगलगायतका निकायहरूद्वारा अनुसन्धान सम्बन्धी कार्यहरू भइरहेका भए पनि उक्त भाषाहरूमा गरिने अनुसन्धानका निम्ति उपयोगमा आउने मौलिक लेखन पद्धतिको  विकासका लागि ठोस पहलका साथ मानक स्वरूप निर्धारण हुन सकिरहेको छैन । निर्धारित अनुसन्धान शैलीका अभावमा पण्डित श्री लोकनाथ लुइटेल स्मृति-प्रतिष्ठानले अनुसन्धानमूलक पत्रिका लोकदर्पणको प्रकाशनका सन्दर्भमा कठिनाइको अनुभव गरी उक्त समस्यालार्इ सम्बोधन गर्न विचार–विमर्श प्रारम्भ गर्यो । यस कार्यलार्इ औपचारिक रूपमा अगाडि बढार्इ संस्कृत, नेपालीलगायतका भाषामा हुने अनुसन्धानहरूको मौलिकता कायम राख्न उपयोगी हुने अनुसन्धान शैलीको विकास गर्न २०७९ साल साउन १४ गते  निम्नलिखित विज्ञहरू सम्मिलित एक समितिको गठन गरेको थियो –

संयोजक – डा. यज्ञेश्वर निरौला, सहप्राध्यापक (नेपाली), त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पस,  काठमाडौँ ।
सदस्य –  डा. अमृत कुमार श्रेष्ठ, सहप्राध्यापक (राजनीतिशास्त्र), त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौँ ।
सदस्य –  डा. सागरमणि सुवेदी, प्राध्यापक (संस्कृत साहित्य), नेपाल संस्कृत विश्वविद्यालय, पिण्डेश्वर विद्यापीठ, धरान ।
सदस्य –  डा. हरिशरण लुइटेल, सहप्राध्यापक (अर्थशास्त्र), अल्गोमा विश्वविद्यालय, क्यानाडा ।
सदस्य –  भवानीप्रसाद मिश्र, उपप्राध्यापक (न्यायदर्शन), नेपाल संस्कृत विश्वविद्यालय, जनता विद्यापीठ, दाङ  ।

यस समितिले अनुसन्धान सम्बन्धी कार्य गरिरहेका त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरूसँग समन्वय गरी आफ्नो कार्य गर्ने सन्दर्भमा गठन भएको एक वर्षपछि पण्डित श्रीलोकनाथ लुइटेल स्मृति प्रतिष्ठानद्वारा २०८० साउन ३१ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा समितिका संयोजक डा. यज्ञेश्वर निरौलाले उक्त संस्थाहरूका विशिष्ट पदाधिकारीहरूको उपस्थितिमा समितिको तर्फबाट “अनुसन्धान शैलीमा एकरूपताका सम्भावनाहरू” नामक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  त्यहाँबाट प्रारम्भ भएका औपचारिक विचार–विमर्श, बहस, छलफललार्इ निरन्तरता दिँदै सामग्रीलार्इ एउट मूर्त रूप दिने कार्य समितिले यसपटक सम्पन्न गरी प्रतिष्ठानद्वारा प्रकाशन भएपश्चात्  लोकार्पण कार्य सम्पन्न भएको छ । यसका लागि मूख्य भूमिका निर्वाह गर्नुहुने समितिका संयोजक डा. यज्ञेश्वर निरौला र समितिमा रहनुहुने सम्पूर्ण विद्वान्हरूप्रति प्रतिष्ठान हार्दिक कृतज्ञताका साथ धन्यवाद ज्ञापन गर्दछ । छोटो समयको विज्ञसमीक्षापश्चात् प्रकाशन गरिएकाले अब प्रकाशनपछि विज्ञहरूसमक्ष प्रस्तुत गरी प्राप्त आवश्यक सुझाबहरूलार्इ समेट्दै परिष्कृत संस्करणको प्रकाशन गर्ने कुरामा प्रतिष्ठान तयतरीका क्रममा छ ।

कार्यक्रममा सम्मानित गुरु पुरूषोत्तम भट्टराई, प्रमुख अतिथि प्रा. नारायणप्रसाद शर्मा कट्टेल, विशिष्ट अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. सागरमणि सुवेदी, डा. यज्ञेश्वर निरौला, धरान उपमहानगरपालिकाका उपप्रमुख श्री अइन्द्रबिक्रम बेघा लगायतका महानुभावहरूले आफ्ना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रा.डा. गोपाल भण्डारी, सहप्रा. चक्रपाणि खनाल, प्रा.डा. चन्द्रमणि नेपाल, प्राज्ञ डा. खेमराज खनाल, प्रा.डा. सागरमणि सुवेदी लगायत धरानका प्राध्यापक, साहित्यकार, पत्रकार, समाजसेवी तथा अन्य महानुभावहरूको उपस्थिति रहेको थियो भने धरानका विभिन्न धार्मिक, सामाजिक सङ्घ संस्थाहरूको पनि संस्थागत रूपमा व्यापक सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. नारायण प्रसाद शर्मा कट्टेलले लोकनाथ गुरुको संस्मरण स्वरूप मीठो शैलीमा यथार्थ परक दुर्इ पद्यको कवितासमेत वाचन गर्नुभएको थियो । चन्द्रसंस्कृत माध्यमिक विद्यालयका वेदपाठी बटुहरूको वैदिक मङ्गलाचरण र प्रमुख अतिथिलगायत गुरुहरूबाट दीप प्रज्वलन तथा पण्डित लोकनाथ गुरु एवम् सरस्वती माताको तस्वीरमा माल्यार्पणका साथ शुभारम्भ भएको उक्त कार्यक्रमको अध्यक्षता श्रीमती सुभद्रा सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा समुपस्थित अतिथि लगायत सम्पूर्ण महानुभावहरूलाई प्रतिष्ठानका सदस्य मधुसूदन घिमिरेले मन्तव्यमार्फत् स्वागत गर्दै प्रतिष्ठानको वर्तमानसम्मका गतिविधिहरू र उद्देश्यहरूका बारेमा पनि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव उपप्रा. भवानीप्रसाद मिश्रले गर्नुभएको थियो ।

विद्वत्सम्मान तथा ग्रन्थ लोकार्पण समारोह - १

विद्वत्सम्मान तथा ग्रन्थ लोकार्पण समारोह - २